काठमाडौं,कार्तिक १४ । ग्राहकलाई स्तरीय विद्युत् सेवा दिनेगरी नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको स्मार्ट मिटर जडान कार्य तीव्रताका साथ अघि बढिरहेको प्राधिकरणले जनाएको छ ।
मिटर रिडर नपुगे पनि खपत विवरण जानकारी हुने सूचना प्रविधिमैत्री स्मार्ट मिटर जडान काठमाडौँको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत जडान जारी छ ।
गत साउन २५ मा उद्घाटन गरिएको स्मार्ट मिटर जडान कार्य तत्काल रत्नपार्क केन्द्रअन्तर्गतका ग्राहकमाझ ल्याउने अन्तिम तयारी रहको प्राधिकरण स्मार्ट मिटरिङ महाशाखा प्रमुख रोशन न्यौपानेले जनकारी र्र्दिए । प्राधिकरणले पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका ग्राहकको घरमा स्मार्ट मिटर जडान गर्दै छ ।
न्यौपानेका अनुसार अहिले मण्डिखाटार, सुकेधार, गोङ्गबु र धापासी क्षेत्रमा १२ हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान गरिसकिएको छ । दशैँलगत्तै रत्नपार्क वितरणसहितका बाँकी क्षेत्रमा जडान कार्य थाल्न लागिएको हो । महाराजगञ्ज र रत्नपार्कको सम्पन्न गर्न जनशक्ति थप गर्न लागेका छौँ, न्यौपानेले भने, “उपत्यकाभरका लागि पनि मिटर खरिदलगायतका टेन्डर आह्वानको अन्तिम तयारीमा छौँ।”
पहिलो चरणको विद्युत् मिटरका लागि चीनको पिङ्गो र विसडम कम्पनीले ठेक्का प्राप्त गरेका थिए । सामान आपूर्तिलगायत प्रविधिक समस्या हालसम्म नपरेको न्यौपानेको भनाइ छ । करिब चार सय ग्राहकको प्रतिस्थापन गर्न भने समस्या आएको उनले बताए ।
स्मार्ट मिटरका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पनि अनुमति आवश्यक पर्ने हुन्छ । मन्त्रालयबाट दोस्रो चरणका लागि रेडियो फ्रिक्वेन्सीको अनुमतिको प्रतीक्षामा प्राधिकरण छ । यो अनुमति पाएपछि ठेक्का आह्वान गर्ने र ठेक्का लागेको ३० महिनाभित्र काठमाडौँ उपत्यकाभित्र सबै मिटर स्मार्टमा रूपान्तरण गरिसक्ने योजना छ ।
अहिले कोभिड महामारीका कारण पनि पहिलो चरणको काम प्रभावित भएको आजको गोरखापत्र दैनिकमा खवर छ ।