Logo

फागुन ७ गते महाधिवेशन गर्न सकिँदैन् : लेखक



काठमाडौं, १४ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशनको तिथि मिति सार्नेबारे अबको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने विश्वास दिलाएका छन् ।  उनले भने,‘केन्द्रिय कार्यसमितिको बैठकमा आगामी महाधिवेशन यस्तो विषम परिस्थितिमा कसरी राम्रोसँग सम्पन्न गर्ने ? त्यसका लागि कार्यतालिकाको विषयमा सल्लाह र छलफल हुन्छ ।’

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले यस्तो बताएका हुन् । पत्रकार धमलाले उसो भए महाधिवेशनको मिति सर्छ ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘केन्द्रिय कार्यसमिति बैठक बस्नुअघि नेताहरुको बैठक बस्छ । धेरै विषयमा छलफल हुन्छ । कार्यतालिका, मिति नै परिवर्तन गर्नेबारे छलफल हुन्छ । तर, सहमतिमा निर्णय हुन्छ ।’

उनले पार्टी सभापति शेरबहादुर देउवाले पनि फागुनमा महाधिवेशन नगर्ने भनेर कहिल्यै नभनेको स्पष्ट पारे । उनले भने,‘उहाँले फागनुमा महाधिवेशन नगर्ने भनेर भन्नुभएको छैन् । सभापतिजीले फागुनमा महाधिवेशन नगरौं भन्नुभएको थिएन । तर, अहिलेको परिस्थितिले महाधिवेशनको लागि सहज स्थिति भएन, अवस्था विकराल छ । फागुनमा महाधिवेशन गर्न परिस्थितिले दिएन । आज हामी कार्तिक १४ गतेमा छौं । फागुनमा महाधिवेशन गर्न तीन महिनामात्रै समय छ । वडादेखि अधिवेशन सम्पन्न गर्न सम्भव छैन् ।’

पत्रकार धमलाले भारतको विहार र अमेरिकामा चुनाव भैरहेको छ ? अनि नेपालमा हुनै नसक्ने हो र ? भनेर राखेको अर्को जिज्ञासमा उनले थपे,‘नेपालमा निषेधाज्ञा भयो । लामो समयसम्म लकडाउन भयो । निषेधाज्ञा र लकडाउनको समयमा आवातजावत बन्द भयो । विधानले भनेबमोजिमका कुरा निषेधाज्ञा र लकडाउनले गर्नुपर्ने काम गर्न सकिएन । महामारी बढ्न थाल्यो । भेला र बैठक गर्ने सम्भव भएन । पटक पटक केन्द्रिय कार्यसमितिको बैठक गर्ने प्रयत्न गर्दापनि बैठक हुन सकेन ।’

उनले कतिपय नेताहरुको घरभित्रै संक्रमण देखिएको अवस्था पनि सुनाए । ‘महाधिवेशनको लागि गर्नुपर्ने पूर्व तयारीहरु हुन सकेका छैनन् । महाधिवेशनको तिथि नै सारेर जानु नै ज्यादा व्यवहारिक देखिन्छ भनेर कुरा उठिरहेको छ ।’–उनले प्रष्ट्याए । उनले यस्तो अवस्थामा अब फागुन ७ मै महाधिवेशन कसरी गर्न सकिन्छ त ? भन्ने पनि प्रश्न गरे । उनले भने,‘यसबारेमा छलफल गरौं न त । यो केन्द्रिय कार्यसमितिले फागुन ७ गते नै गरौं भनेको छ । अब कसरी सम्भव हुन्छ ? भनेर सोधेको हो । कार्यतालिका संशोधन त गर्नैपर्छ । यी विषय केन्द्रिय कार्यसमितिको एजेण्डा हुन्छन् । उहाँहरुको राजनीतिक जिम्मेवारीको विषय हो । नेताहरुले औपचारिक रुपमा छलफल गरेर तय हुन्छ । अब बस्ने कार्यसमिति बैठकमा अरु पनि राजनीतिक एजेण्डामा छलफल हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot