Logo

पर्यटन बचाउन दुईदिने बिदा कार्यान्वयनको माग



पोखरा, कार्तिक १५ । कोरोना महामारीका कारण प्रभावित पर्यटन क्षेत्रलाई राहत दिन सातामा दुई दिन बिदा दिने सरकारी प्रस्ताव पारित गरी कार्यान्वयन गर्न पोखरेली पर्यटन व्यवसायीले माग गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गरेको प्रस्ताव स्वागतयोग्य छ, पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचनले भने, “यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गर्दछौँ । ”

नेपालको पर्यटन क्षेत्र आठ महिनादेखि कोमामा पुगेको बताउँदै दुई दिन बिदाले राहत प्रदान गर्ने उनको भनाइ छ । बाह्य पर्यटक आउने सम्भावना तत्काल नभएको हुँदा आन्तरिक पर्यटकले पर्यटन क्षेत्रलाई चलायमान बनाउन सके पर्यटन व्यवसायीलाई राहत हुने विश्वास उनको छ ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यावहारिक र समय सान्दर्भिक रहेकोसमेत उनले बताए ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट यस प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्न चाहन्छौँ, सङ्घका अध्यक्ष विकल तुलाचनको धारणा छ ।

सो प्रस्ताव कार्यान्वयनमा आएमा पर्यटन क्षेत्र चलायमान भई व्यवसायी पलायन हुनबाट रोकिने विश्वास व्यवसायीको छ । पर्यटन व्यवसायमा निर्भर प्रत्यक्ष तथा परोक्ष दक्ष श्रमिक रोजगारका लागि विदेश जानुपर्ने बाध्यात्मक अवस्थामा न्यूनता आउने र स्वरोजगार बनेका अन्य ठूला तथा साना व्यवसायीलाई समेत राहत पुग्ने अध्यक्ष तुलाचनको भनाइ छ ।

कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई लक्षित गरी पर्यटन मन्त्रालयबाट आएको यस प्रस्तावले पर्यटन तथा होटल
उद्योगमा व्याप्त सङ्कटलाई जोगाउन विशेष भूमिका खेल्छ ।गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot