काठमाडौं, १५ कात्तिक । कलाकार सुशीला दाहालको निधन भएको छ । लामो समयदेखि क्यान्सरसँग जुध्दै आएकी उनको बिहिबार विहान अमेरिकामा निधन भएको हो ।
६७ वर्षीया दाहालको वाल्थमस्थित हस्पिस केयर सेन्टरमा पेल्भिक क्यान्सको उपचार हुँदै आएको थियो । दाहाल विशेषगरी मह जोडीले निर्माण गर्ने गरेको चलचित्र तथा टेलिचलचित्रमा अभिनय गरेर चर्चामा आएकी थिइन् । उनले लालपूर्जा, चिरञ्जीवी, भकुन्डे भुत जसता टेलिचलचित्रमा अभिनय गरेकी थिइन् ।
दाहालको निधनप्रति कलाकारहरुले गहिरो दुःख व्यक्त गरेका छन् । वरिष्ठ कलाकारहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उनको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् । कलाकार गौरी मल्लले पनि दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गरेकी छिन् ।-फाइल तस्वीर