काठमाडौं, कार्तिक १६ । राजधानीका विकुप्रसाद पुजारी फोहोर सङ्कलन गर्न दिनहुँजसो बागबजार, मैतीदेवी, डिल्लीबजार, बानेश्वर र सिनामङ्गल क्षेत्रका टोल टोल पुग्छन् । “फोहोरमा खुला मास्क, पञ्जा देखेपछि भाइरस पो छ कि भनेर हरेकपल्ट मन चसक्क हुन्छ तर काम हो, उठाउनै प¥यो, उठाइन्छ,” उनले सुनाए। बन्दाबन्दीपछि उनी पीपीई, बुट र पञ्जा अनिवार्य लगाएर फोहोर उठाउदै आएका छन् ।
यतिबेला कोरोना भाइरसको महामारी व्यापक रूपमा देशभर फैलिएको छ । उहाँजस्तै झन्डै तीन हजार तीन सय सरसफाइकर्मी यसैगरी जोखिम मोलेर काठमाडौँ उपत्यकामा सङ्क्रमित र आम मानिसले उब्जाएका फोहोर बटुलिरहेका छन् ।
भाइरसबाट बच्न सबै निकायमा कतिपयले आलोपालो र कतिपयले घरबाटै काम गर्ने चलन चलाएको छ । तर अत्यावश्यक सेवाभित्र पर्ने सरसफाइ र फोहोर उठाउनेको काम निरन्तर जारी छ । तीन महिनाको बन्दाबन्दी होस् वा अहिलेको उच्च महामारीमा समेत उच्च जोखिम मोलेर सरसफाइ कर्मचारी ‘फ्रन्ट लाइन’मा सक्रिय छन् ।
आफू बच्दै समाज र नगरवासीलाई फोहोरको सङ्क्रमणबाट हुने विभिन्न रोगको जोखिमबाट सरसफाइकर्मीले बचाइरहेका छन् । सरसफाइकर्मी नहुँदा हुन् त महामारीको यो बखतमा सहर फोहोर र अन्य महामारीको घर बनिसकेको हुने थियो ।
त्यसै पनि कोरोना भाइरसको महामारी फैलिरहेको बेला नगर, टोल सफा राख्नुपर्ने हुन्छ ।
नत्र कोरोनासँगै अनेक रोगको अर्को महामारीले मानिसको थप ज्यान लिन सक्ने उनको बुझाई छ । यस्तोमा आफू बचेर अरूलाई बचाउँदै काम गर्नुपर्ने दोहोरो जिम्मेवारी सरसफाइ कर्मचारीमा आइपरेको पुजारी बताउन्छन् । उनी बीएन्डपी कम्पनीका तर्फबाट फोहोर सङ्कलन गर्छन् । काठमाडौँ, ललितपुर महानगरपालिका र भक्तपुरका विभिन्न नगरपालिकासँगको समन्वयमा सार्वजनिक– निजी साझेदारीको अवधारणा अनुसार फोहोर सङ्कलन गरिँदै आएको उनले बताए ।
नेपालमा महामारीको सुरु भएसँगै पीसीआर परीक्षण गरे पनि सङ्क्रमणले उनलाई भेटेको छैन । उनका अनुसार घरघरबाट फोहोर उठाउने क्रममै सतर्क रहेर उठाइन्छ । पहिले पहिले घरभित्रै पुगेर ल्याउने गरिन्थ्यो, अचेल सिटी फुकेर बाहिर ल्याउन भनिन्छ । ल्याउने वित्तिकै फोहोर उठाइँदैन, केहीबेर घाममा राखेपछि बल्ल गाडीमा राखिन्छ ।
फोहोर फालेर फर्केपछि लगाएको पीपीई फुकालेर छुट्टै राखिन्छ । अनि साबुनपानीले सफा गरेर मात्र भित्र परिवारको सम्पर्कमा जाने चलन सरसफाइकर्मीले बसालेको आजको गोरखापत्र दैनिकमा खवर छ ।