Logo

विभिन्न स्थानबाट नगदसहित जुवाडे पक्राउ



काठमाडौं, १६ कात्तिक । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४५ जना पक्राउ परेका छन् । मोरङ, केराबारी गाउँपालिकाका भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई ८ लाख ८९ हजार २ सय ५० रुपैयाँ र १३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका–६ का भुपेन्द्र भट्टराई, बोधराज मगर, धरानका अरूण केसी, शैलेस भुजेल र सोही उपमहानगरपालिकाका हरि खत्री रहेका छन् । भुपेन्द्रको घरमा तास खेलिरहेको विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

यसैगरी, कमलबिनायकका माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । माधवको घरमा तास खेलिरहेको सुचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ९० हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको बताएको छ ।

त्यस्तै, काठमाडौंको बिजेश्वरीमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने काभ्रेपलाञ्चोक घर भएका २२ वर्षीय विक्रम लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५३ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको बताएको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका–७ चागाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका–२का ४९ वर्षीय सुरेश पौडेल लगायत १८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा कौडा खलिरहेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ११ लाख ५४ हजारौ ५ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot