Logo

नेकपा विवाद उत्कर्षमा, बालुवाटार र खुमलटारमा बेग्लाबेग्लै रणनीतिक छलफल



काठमाडौं, १६ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच देखिएको तित्तताका कारण पार्टी फुटको संघारमा पुग्न लागेको छ । हिजोमात्रै अध्यक्षद्धय ओली र दाहालबीच बालुवाटारमा करिब एक घण्टा एक्लाएक्लै भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा दाहालले यसरी पार्टी चल्न नसक्ने भन्दै अहिले उत्पन्न भएको पार्टीभित्रको परिस्थितिको बारेमा तत्काल सचिवालय बैठक बोलाएर छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

मन्त्रिमण्डल पूनर्गठन हुँदै कर्णाली विवाददेखि पर्सा काण्ड र रअ प्रमुखसँग ओलीले गरेको शिष्टाचार भेटको विषयलाई लिएर नेकपाभित्र विवाद चुलिएको छ । ओली र दाहालबीच हिजो १२ दिनपछि मात्रै सम्वाद भएको थियो । दाहाललाई पटक पटक बालुवाटार आउन आग्रह गर्दापनि उनी गएका थिएनन् । यो बीचमा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँग पनि दुई पटक एक्लाएक्लै भेटवार्ता गरेका थिए । उक्त भेटमा नेता नेपाललाई मिलेर जान ओलीको प्रस्ताव थियो ।

यतिवेला पार्टी एकता गम्भीर संकटको मोडमा आईपुगेको छ : महासचिव पौडेल

आज अपरान्हमात्रै महासचिव विष्णु पौडेलले पार्टी एकता यतिवेला गम्भीर संकटको मोडमा आईपुगेको भन्दै एकता जोगाउनको लागि नेता तथा कार्यकर्ताहरुसमक्ष अपिल गरेका थिए । महासचिव पौडेलको उक्त भनाई सार्वजनिक भएसँगै नेकपा फुटको संघारमा पुगेको अड्कल गर्न सकिन्छ । यतिवेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली पक्षधर नेताहरुको छुट्टै भेला भैरहेको छ भने दाहाल निवास खुमलटारमा दाहालसहित वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ भेला भएको स्रोतको दाबी छ । दुवै पक्ष यतिवेला आन्तरिक रणनीति बनाउन व्यस्त रहेको बुझिएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्