काठमाडौं,कार्तिक १६ । कोरोना भाइरस संक्रमण नेपालमा समेत फैलिँदा नयाँ लगानी गर्न ‘पर्ख र हेर’को स्थिति देखिए पनि वैदेशिक लगानीका प्रोजेक्ट दर्ता स्थिति भने गतवर्षको जस्तै देखिएको छ ।
चालू आर्थिक वर्ष २०७७र७८ को पहिलो ३ महीनामा कुल रू। १९ अर्ब १५ करोड लगानीका ८९ ओटा परियोजना उद्योग विभागका दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०७६र७७ को पहिलो ३ महीनामा पनि यही संख्यामा वैदेशिक लगानीका उद्योग दर्ता भएका थिए । यसले गर्दा २ आर्थिक वर्षमा विदेशी लगानीका प्रोजेक्ट दर्ता स्थिति स्थिर देखिएको हो । यद्यपि आर्थिक वर्ष २०७५र७६ मा भन्दा उल्लेख्य मात्रामा यस्तो संख्या कम रहेको छ । सो वर्षकै ३ महीनामा १२९ ओटा उद्योग दर्ता भएका थिए ।
नेपालको कृषि तथा वनजन्य, सूचना र प्रविधि, उत्पादनमूलक, सेवा र पर्यटनका क्षेत्रमा चालू आवमा दर्ता भएका ती उद्योगबाट २ हजार ८४६ जनाले रोजगारी पाउने देखिएको छ । चालू आवको यस अवधिमा पनि पर्यटन र सेवाक्षेत्रले नै लगानीका लागि आकर्षणका रूपमा स्थापित देखिन्छन् । साउनदेखि असोज अन्तिमसम्ममा नेपालमा ५८ ओटा पर्यटनसम्बन्धी उद्योग तथा परियोजना दर्ता भएका छन् भने ती परियोजनाको कुल लगानी रू। १३ अर्ब ८० करोड रहेको छ ।
विदेशी लगानीकर्ताको दोस्रो रोजाइमा सेवासम्बन्धी उद्योग क्षेत्र परेको छ । यसबीचमा २५ ओटा सेवासम्बन्धी परियोजना दर्ता हुँदा कृषि तथा वनसम्बन्धी १, सूचना प्रविधिका ३ र उत्पादनमूलक उद्योगमा जम्मा दुईओटा उद्योग दर्ता भएका छन् । सेवा क्षेत्रमा चालू आर्थिक वर्षको यो अवधिमा रू। ४ अर्ब ५० करोड लगानीका परियोजना दर्ता भएका छन् । चालू आवको पहिलो ३ महीनामा ऊर्जाक्षेत्रमा कुनै वैदेशिक लगानी नभित्रिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।