हेटौंडा, कार्तिक १७ । हेटौंडा उपमहानगरका नेपाली कांगे्रस सभापति आनन्दराम पराजुलीलाई कोरोना भएर साढे दुई महिना भइसक्दा पनि उनले कोरोना बिमा दाबी भुक्तानी प्राप्त गरेका छैनन् ।
कोरोना संक्रमण निको भएर पनि उनी आफ्नो कार्यमा फर्किसकेका छन् । उनले कोरोना बिमाको रकम आउने भनेपछि कोरोना बिमा बराबरको १ लाख रकम विभिन्न संघसंस्थालाई सहयोग समेत गरिसकेका छन् । तर, बिमांक रकम भने आएको छैन ।
उनले शिखर लाइफ इन्स्योरेन्समा बिमा गरेका थिए । बिमा कम्पनीमा बुझ्दा यसबारे आफूहरुलाई पनि थाहा नभएको इन्स्योरेन्सका प्रतिनिधिले बताएका छन् । रकम बिमा समितिले रोकिरहेको हुँदा हेड अफिसमा नै बुझनुपर्ने भन्दै उनीहरु पन्छिने गरेका छन् ।
हेटौंडाका राजकुमार गौतम र उनकी पत्नीले एनएलजी इन्स्योरेन्समा बिमा गरेका थिए । उनीहरु कोरोनामुक्त भएको २ महिना बढी भइसक्यो । तर, बिमा दाबी रकम भने पाउन सकेका छन्।
कोरोना संक्रमण भएर २ महिना बित्दा पनि बिमा रकम नपाएकी हेटौंडाकी पत्रकार कुमारी स्याङ्बो पनि छन् । उनको नेपाल पत्रकार महासंघ बागमती प्रदेशबाट युनाइटेड इन्स्योरेन्समा बिमा गरिएको थियो । उनले बिमा कम्पनीमा पटकपटक सम्पर्क गर्दा दुईरचार दिनमा भइहाल्छ भन्दै टार्ने गरेकोले आश मरिसकेको र पछिल्लो समय सम्पर्क पनि नगरिएको बताईन् ।
यी केही उदाहरणमात्र हुन् । जतिको बिमा भयो, उनीहरुले बिमा रकम त पाउँछन् । तर, कहिले पाउँछन् भन्ने आफूहरुलाई जानकारी नभएको भन्दै उक्त कम्पनी पनि तर्किने गरेको आजको नेपाल समाचार पत्र दैनिकमा खवर छ ।