Logo

‘पुच्छर’ले टाउको हल्लाउँदा वीपी प्रतिष्ठानको वेहाल’, स्वास्थ्यमन्त्रीकै सल्लाह मानेनन् उपकुलपतिले



धरान, १७ कार्तिक । स्वकीय सचिवका कारण आलोचनाको शिकार भइरहेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई गरेको प्रतिबद्धता अझै पुरा गर्न सकेका छैनन् ।  कोरोना हस्पिटल सञ्चालनमा स्थानीय व्यापारीसँग मिलेर लाखौं चलखेल गरेको आरोप लागेर सर्वत्र आलोचित बनेका स्वकीय सचिव दिलिप भट्टराईलाई हटाउने प्रतिबद्धता जनाएको तीन साता बढि भइसके पनि उपकुलपतिले हटाउन नसक्नुमा ठूलै रहस्य रहेको बुझिएको छ ।

‘स्वकीय सचिवले मेरो इज्जत माटोमै मिलायो, स्वास्थ्यमन्त्री र प्रधानमन्त्रीको समेत बेइज्यत गर्यो यसलाई तुरन्तै हटाउँछु ।’ भन्दै प्रतिष्ठानभित्रै भन्दै हिँड्ने डा. गिरी स्वकीय सचिवलाई हटाउनुको सट्टा मेडिकल व्यापारीसँगको मिलेमतोमा व्यवस्थापन गर्न लागि परेका छन् । ‘स्वास्थ्यमन्त्री समेतले दिलिप भट्टराईलाई हटाउन भनेपनि उपकुलपतिले हटाएका छैनन् । दसैंअघि नै हटाउँछु भनेका थिए तर, भट्टराई अहिले उपकुलपतिकै क्वाटरमा बसेर चलखेल गरिरहेका छन् ।’ एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

दिलिप भट्टराईलाई हटाएर सत्तारुढ नेकपाको प्रदेश र स्थानीय कमिटिसँगको परामर्शमा विज्ञ व्यक्तिलाई सल्लाहकारका रुपमा राख्न नेकपा प्रदेश इन्चार्ज भीम आचार्यसँग उपकुलपतिले प्रतिबद्धता जनाएका थिए । ‘प्रदेशका सांसदहरुसँगको बैठकमा स्वकीय सचिवलाई हटाएर विज्ञ व्यक्ति राख्ने प्रतिबद्धता आएको थियो, उहाँले अहिलेसम्म हटाउनु भएको रहेनछ ।’ १ नं. प्रदेश सांसद तथा नेकपा प्रदेश इन्चार्ज भीम आचार्यको भनाई छ ।

नेकपा केन्द्रीय सदस्य विनोद ढकालले व्यक्तिको कारण संस्था सञ्चालनमा समस्या आउँछ भने त्यस्ता व्यक्तिहरुलाई हटाउँदा नै ठिक हुने धारणा राख्छन् । स्वकीय सचिवकै कारण संस्था बदनाम हुँदा पदाधिकारीहरुको समेत गरिमा धुमिल हुने उनको भनाई छ । ‘स्वकीय सचिव भनेको आफुलाई सहज हुने मान्छे राख्नुपर्छ । पार्टीले उहाँलाई उपकुलपतिमा नियुक्त गरेको हो, उहाँकै कारण पार्टी बद्नाम हुनुहुन्न । सबैले त्यस्ता व्यक्तिलाई हटाउनु पर्छ भन्छन् भने सल्लाह मान्नुपर्छ । पार्टीले निर्देशन पनि दिन सक्छ ।’ ढकालले भने–‘मुख्य कुरा संस्था विग्रनु भएन । यसअघि प्रतिष्ठानको ‘भिआइपी गेष्ट हाउस’मा बसेर प्रतिष्ठानको श्रीसम्पत्तिमा र्याईंद्याईं गरेका भट्टराईलाई अहिले उपकुलपतिले आफ्नै क्वाटरमा राखेर संरक्षण गरीरहेका छन् ।

स्वकीय सचिवलाई किन हटाउन सक्दैनन् ?

उपकुलपति स्वकीय सचिवलाई हत्पत्ति हटाउन सक्ने परिस्थितिमा छैनन् । डा. गिरीको नियुक्तिदेखि उनका दैनिक भेटघाटका फेहरिस्तहरु स्वकीय सचिवसँग रहेकोले उसलाई तत्कालै हटाए आफ्नै विरुद्ध लाग्ने अवस्था देखेर उपकुलपति हच्किएका हुन् । ‘भिसीका हरेक निर्णय, भेटघाट, छलफलका फड्के साक्षी हुन् दिलिप भट्टराई, उनलाई सजिलै हटाउन सक्ने परिस्थिति छैन । उनले स्वास्थ्यमन्त्री र प्रतिष्ठानका पदाधिकारी र कर्मचारीलाई समेत दसैं अगाडी नै हटाउँछु भनेपनि हटाउन नसक्नुमा ठूलै रहस्य छ ।’ स्रोत भन्छ ।

स्वकीय सचिव भट्टराईसँग उपकुलपतिले गरेका हरेक वार्तालाप र गोप्य भेटघाटका प्रमाणहरु छन् । खासगरी कोभिड–१९ अस्पताल निर्माण सञ्चालन तथा स्वास्थ्य उपकरण खरिदमा स्थानीय मेडिकल सप्लायर्ससँगको आर्थिक साँठगाँठ र अन्य आर्थिक गतिविधिका गोप्य प्रमाणहरु रहेकाले स्वकीय सचिवलाई हटाउनुभन्दा धरानका मेडिकल व्यापारीको संरक्षणमा राख्ने तयारी छ । यसका लागि भट्टराईलाई काठमाडौंमा राखेर ती मेडिकल सप्लायर्सबाट तलब सुविधा दिलाउने गोप्य सहमति भएको छ ।

भट्टराईलाई प्रतिष्ठानको काठमाडौं सम्पर्क कार्यालयमा राखेर काम लगाउने मनस्थितिमा थिए उपकुलपति । तर, स्वकीय सचिवको कार्यशैलीका कारण चौतर्फी दवाव थेग्न नसकेपछि मेडिकल सप्लायर्सको पोल्टामा राख्ने योजना भइरहेको छ । ‘उपकुलपतिले उनलाई हटाउने भन्दापनि मेडिकल व्यापारीको पोल्टामा राखेर काम लगाउने सोच बनाएका छन् ।’ प्रतिष्ठानका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भने ।

प्रतिष्ठान सञ्चालनको हरेक निर्णयमा स्वकीय सचिवको हस्तक्षेप बढेपछि पदाधिकारीहरु विच नै असन्तुष्ठि बढेको थियो । स्वकीय सचिव भट्टराईकै निर्देशनमा अस्पताल निर्देशकलाई जिम्मेवारीबाट हटाउनु, रजिष्ट्रारको अधिकार खोस्नु, प्रतिष्ठानका कर्मचारीलाई मेडिकल सप्लायर्स र व्यापारीहरुको स्वार्थअनुसार सरुवा गर्नु तथा कोभिड अस्पताल सञ्चालनमा चरम लापरवाही गर्दा उपकुलपति स्थानीयदेखि प्रदेश र केन्द्र सरकारको नजरमा आलोचनाका पात्र बनेका छन् ।

पुच्छरले टाउको हल्लाउँदाको परिणाम

वीपी प्रतिष्ठान दिन प्रतिदिन अव्यवस्थाको शिकार हुँदै जानुमा असक्षम नेतृत्व जिम्मेवार रहेको सरोकारवाला बताउँछन् । प्रतिष्ठानको नेतृत्व गरिरहेका डा. ज्ञानेन्द्र गिरी क्षमता भन्दापनि ‘निगाह’मा आएका हुन् । उनी गत निर्वाचनमा डा. शेखर कोइराला र डा. सुनिल शर्मालाई गाली गर्दै भानुभक्त ढकाललाई चुनाब जिताएवापत उपकुलपति भएका हुन् । ‘टाउकाले पुच्छर हल्लाएर हैन पुच्छरले टाउको हल्लाएर प्रतिष्ठान विग्रिएको हो । जबसम्म नेतृत्वले आफैं निर्णय गर्ने क्षमता राख्दैन संस्था सुध्रिन सक्दैन ।’ प्रतिष्ठानका एक पूर्वउपकुलपतिले भने–‘उपकुलपतिमा दिर्घकालिन भिजन हुनुपर्छ । बर्तमान उपकुलपतिमा गुणस्तरीय चिकित्सा सेवा दिने गुण होला तर, उहाँ कुशल प्रशासक हुन सक्नु भएन ।’

‘मान्छे काविल हो, आचरण सहि भएन’ उपकुलपति

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले स्वकीय सचिव भट्टराईलाई हटाउने सन्दर्भमा प्रदेशका सांसदहरु तथा नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यसँग कुरा भएको स्विकार गरे । मकालु खबरसँग कुरा गर्दै उपकुलपतिले स्वकीय सचिवका विषयमा सांसदहरुकै डेलिगेशन आएको भएपनि आफु तत्कालै हटाइहाल्ने कुनै मनस्थितिमा नरहेको जिकिर गरे । ‘दिलिप भट्टराईका विषयमा प्रदेशका सांसदहरु तथा नेकपाका प्रदेश इन्चार्ज भीम आचार्यसँग कुरा भएको हो, अरुबाट पनि कुरा आएको छ । उहाँहरुले स्वकीय सचिवकै कारण काम गर्न सहज हुँदैन भने परिवर्तन गर्नुस पनि भने, सबैको सल्लाह अनुसार मैले चल्नु त पर्छ नै तर, अहिले नै उसलाई हटाइहाल्ने सोच छैन ।’ डा. गिरीले भने । उनले स्वकीय सचिव भट्टराई काविल मान्छे भएपनि आचरणका कारण समस्या आएको तर्क गरे । ‘यत्तिको मान्छे भेट्न गाह्रो छ । २७ वर्षको उमेरमा यत्तिको काम गर्न जो कोहीले सक्दैन, उसको आचरण चैं सहि भएन ।’ उनले भने ।

स्वास्थ्यमन्त्रीको भर्ति केन्द्र बन्दै प्रतिष्ठान

प्रतिष्ठानलाई स्वास्थ्यमन्त्री ढकालले आफ्नो भर्ती केन्द्र पनि बनाएका छन् । यसै सिलसिलामा भर्खरै मात्र उनले आफ्ना भतिजा अमृत ढकाललाई जनसम्पर्क सल्लाहकारका रुपमा राखेका छन् । उनको काम के हो प्रतिष्ठानका कर्मचारीलाई थाहा छैन । प्रतिष्ठानको कानुनी सल्लाहकारमा आफ्ना बहिनी ज्वाईं सुमन पन्तलाई राखेका छन् । स्वास्थ्यमन्त्रीका स्वकीय सचिव भुवन खतिवडाले आफ्नै दाजु चिरञ्जिवी खतिवडालाई कानुनी सल्लाहकार बनाएका छन् । उपकुलपतिको ड्राइभरका रुपमा पनि मन्त्रीकै मान्छे राखिएको छ ।

शिक्षा, स्वास्थ्य र अनुसन्धानको लागि स्थापना भएको स्वास्थ्य संस्थामा आएका पदाधिकारी तथा मन्त्रीहरुले क्षमता र योग्यता नहेरी आफन्त तथा पार्टीका कार्यकर्तालाई जागीर खुवाउँदा वीपी प्रतिष्ठान भर्ति केन्द्र बनेको छ ।



प्रतिक्रिया दिनुहोस्