Logo

ओली पक्षको आरोप : प्रचण्ड गुटगत समिकरणको पछि लाग्दा समस्या भयो



कात्तिक १७, काठमाण्डौ । फाटेको मन पटक पटक सिउँदै अघि बढेका सत्तारुढ दल नेकपाका नेताहरु अहिले वारपारको अवस्थामा पुगेको देखिन्छ । मन पनि यति फाट्यो कि अब त सिउने ठाउँ नै छैन कि भन्नेसम्मको विश्लेषण हुन थालेको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी फुटाउने प्रस्ताव गरेको भन्ने विषयले अहिले तरंग सृजना भएको हो ।

गत शनिवार अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच ११ दिनको अन्तरपछि भेटवार्ता हुँदा विवादित विषयमा सहमति भेटिने अपेक्षा गरिएको थियो । तर भएछ उल्टो । शनिवारको भेटवार्तामा के भयो भन्ने कुरा आइतबार मात्रै बाहिर आयो । र उक्त भेटमा भएको मुख्य संवाद पार्टी नै फुटाउने विषयमा रहेछ । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अर्का कार्यकारी अध्यक्ष दाहाललाई आइतबार सहजै भनिदिए, ‘सँगै बस्न सकिन्न भने अलगअलग जाऔं । तपाईंले कुनै कदम चाल्नुभयो भने त्योभन्दा ठूलो कदम म चाल्छु ।’

यही संवाद अइतबार दाहालले आफू पक्षधर सचिवालय सदस्यहरुलाई जानकारी गराएका थिए । जसले गर्दा अब नेकपा फुटको संघारमा पुगेको अनुमान गरिएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र विवाद उत्कर्षमा पुगेको स्वीकार गर्दै ओलीले दाहालसमक्ष सल्लाहमै अलग अलग बाटौँ हिँडौँ भन्नु समान्य भएको प्रतिक्रिया दिएका छन् । जनता जान्न चाहन्छन् कार्यक्रमका लागि ऋषि धमलासँग कुरा गर्दै पोखरेलले ओलीले सल्लाहका आधारमा अलग्निे प्रस्ताव गरेको हुन सक्ने भए पनि त्यसलाई बढाईचढाई गरेर बाहिर ल्याएको पनि बताए ।

पोखरेलले नेकपा फुटोस भन्ने र नफुटोस भन्ने दुवै पक्ष यतिबेला सक्रिय भएको पनि बताएका छन् । दुई ठूला पार्टीबीचको एकतापछि पूर्व गुटगट समिकरणलाई प्राथमिकता दिएकाले अहिलेको समस्या आएको पोखरेलको ठहर छ ।

ओली गुटका नेता पोखरेलले दुई अध्यक्षबीचको सहमति एक अध्यक्ष पुष्पकमल दाहालले पालना नरेको आरोप पनि लगाएका छन् । ओली र दाहालबीच सहकार्य गर्दै अघि बढ्ने सहमति भए पनि दाहालले गुट र समिकरणलाई प्राथमिकता दिएकाले समस्या सृजना भएको उनको आरोप छ ।

त्यसो त नेकपाका विवाद अहिले मात्रै देखिएको होइन । केही समयअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली पार्टीमा अल्पमतमा परेका थिए । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल पक्षसँग बहुमतबाट ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन सक्ने अवस्था थियो । त्यस बेला पार्टी फुटको संघारमा पुगेको अनुमान थियो । तर पटकपटकको छलफलपछि सहमति भयो । पछिल्लो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावले फेरी तरंग सृजना गर्यो ।

दाहाल निकट मुख्यमन्त्री शाहीलाई हटाउन ओली निकट कर्णालीका सांसद यमलाल कँडेलले अगुवाई गरेका थिए । जसका कारण प्रदेशको विवादले ओली दाहाललाई प्रत्यक्ष असर गर्यो । यहीबीचमा पर्सामा दाहाल निकट जिल्लाका नेता मुकेश चौरासियाको हत्या ओली निकट नेता कार्यकर्ताले गरे । तर प्रहरीले किटानी जाहेरी लिन मानेन । उक्त घटनामा पनि दाहाल र ओलीबीच नै लडाई भएको जस्तो देखियो । यसरी एकपछि अर्को गर्दै ओली र दाहालबीच मतभेद बढाउन भूमिका खेल्ने घटनाहरु थपिदै गएका छन् । जसले गर्दा यतिबेला पार्टी एकता प्रक्रिया नटुङ्गिदै फुट्न् हो कि भन्ने अनुमानमा धेरै बल पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot