Logo

मोदीले विशेष दूत बनाएर पठाएकोले रअ प्रमुखसँग प्रधानमन्त्रीले भेट गर्नुभएको हो : उपप्रधानमन्त्री पोखरेल (भिडिओसहित)



काठमाडौं, १७ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रअका प्रमुख सामन्तकुमार नेपाललाई आफ्नो दूतको रुपमा पठाएकोले प्रधानमन्त्री केपी शर्मा ओलीले शिष्टाचार भेट गरेको स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“प्रधानमन्त्रीको आफ्नो समकक्षीले विशेष दूत बनाएर पठाएपछि प्रधानमन्त्रीले रेस्बोन्सिबल भएर औपचारिक ढंगले नोट परराष्ट्र मन्त्रालयमा पठाईसकिएको छ । भारतीय समकक्षी विशेष दूतको रुपमा सम्वाद गर्न पठाउनुभयो । नेपालको प्रधानमन्त्रीले समकक्षीले पठाएको दूतसँग कुरा गर्ने कि नगर्ने ? प्रधानमन्त्रीले जरुरत पर्यो भने एक्लैपनि भेट्न सक्नुहुन्छ । रअ प्रमुखसँग उहाँले आवश्यक साथीहरुको उपस्थितिमा कुरा गर्नुभएको छ । सम्वद्ध र सरोकारवाला साथीहरुलाई राखेर भेट गर्नुभएको छ । नोट सुरक्षित छ । प्रोटोकलको कुरा होस या जेसुकै हो । आफ्नो समकक्षीले पठाएको विशेष दूतलाई भेट्ने कि नभेट्ने ? भोलि पनि त्यस्तो आउँदा भेट्नुपर्छ । यो भेटको विषयलाई तिलको पहाड बनाउनुपर्ने कारण छैन् । असहज सम्बन्धलाई सहज बनाउनको लागि सम्वाद गर्नुपर्छ ।”

भारतसँगको सिमा विवादलगायतका समस्याको समाधान वार्ता तथा सम्वादमार्फत नै हुने उनको विश्वास छ । उनले भने,”हाम्रा केही समस्या अडानको रुपमा छन् । त्यो कुरा प्रधानमन्त्रीले बताउनुभयो । यी सबै कुरा सम्वादमार्फत अघि बढाउनुपर्छ भन्ने कुरा भएको छ ।” Photo By: Rajan Kafle

 



प्रतिक्रिया दिनुहोस्

Screenshot