धरान, कार्तिक १८ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेथिति बढ्दै गएको छ । पछिल्लो १० वर्षयता प्रतिष्ठानभित्रबाटै उपकुलपति बन्ने दौड चलेको छ । आर्थिक चलखेलमा हुने उपकुलपति नियुक्तिले प्रतिष्ठानमा भ्रष्टाचारले जरो गाडेको स्थानीयको आरोप छ ।
प्रतिष्ठानका पदाधिकारीको व्यवहारले भ्रष्टाचार भइरहेको पुष्टि गरेको बीपी प्रतिष्ठान सुधार दबाब समूहका सदस्य सचिव महेश श्रेष्ठ बताउँछन् । उनका अनुसार प्रतिष्ठानमा तीन किसिमका भ्रष्टाचार हुने गरेका छन् । ‘एउटा सामान खरीदमा हुने भ्रष्टाचार, अर्को परियोजना पूरा नगरीकन गरिने भ्रष्टाचार र प्रतिष्ठानमा उपचारका लागि आएका बिरामीलाई नियतवश अन्यत्र पठाएर गरिएको भ्रष्टाचार हुन्,’ उनले भने, ‘यसमा संलग्न पदाधिकारीको गतिविधिले भ्रष्टाचार भइरहेको देखाएको छ ।’
पछिल्लो समय स्वास्थ्य उपचारमा लापरबाही हुन थालेपछि धरानवासी बीपी प्रतिष्ठान सुधार दबाब समिति गठन गरेर आन्दोलित भएका छन् । कोरोना महामारीका बीच स्थापना भएको कोभिड अस्पतालले अहिले बिरामीलाई अन्यत्र रिफर गर्न थालेको छ । कमसल सामग्री खरीद गरिएका कारण अस्पतालका अन्य सेवा समेत प्रभावित भइरहेका छन् ।
विभिन्न किसिमका राजनीतिक हस्तक्षेपका कारण प्रतिष्ठानको कामकारबाही एवं सेवा प्रभावित हुने गरेको प्रतिष्ठानका कार्यकारिणी सदस्य तथा हाडजोर्नी विभागका प्रमुख प्राडा पशुपति चौधरीको भनाइ छ । ‘विभिन्न किसिमका हस्तक्षेप प्रतिष्ठानमा पनि देखियो,’ उनले भने, ‘विगतमा पदाधिकारी विहीनताको अवस्था, पदाधिकारी विभिन्न काण्डमा मुछिने गरेको कारण यसको नकारात्मक असर प्रतिष्ठानमा परेको छ ।’ प्रतिष्ठान करीब ९ महीनासम्म पूर्ण उपकुलपतिविना चल्दा पनि दीर्घकालीन योजनाहरू प्रभावित भएको उनले बताए । प्रतिष्ठानभित्रका चिकित्सकदेखि पदाधिकारी÷कर्मचारीमा राजनीतीककरण, गुटउपगुटका कारण पनि प्रतिष्ठान धराशयी बन्दै गएको उनको बुझाइ छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दैनिक ३ हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । तर व्यवस्थापन चुस्त नहुँदा प्रभावकारी रूपमा स्वास्थ्य सेवा प्रवाह हुन नसकेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।