काठमाडौं, १९ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले भारतीय सेनाअध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर हुने विश्वास दिलाएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘सेनाअध्यक्षलाई हामीले बोलाउने र भारतले पनि हाम्रो सेनाअध्यक्षलाई बोलाउने परम्परा हो । यो भ्रमणले द्धिपक्षीय सम्बन्धमा आईसब्रेक हुन्छ ।’ उनले नेपालमा सैन्य कुटनीति बलियो रहेको सुनाए । नरवणेको नेपाल भ्रमणले सम्बन्धमा राप र ताप दिने उनको दाबी छ । उनले भने,‘उहाँको भ्रमणले कठिन मोडमा पुगेको दुई देशको सम्बन्धमा सकारात्मक योगदान पुर्याउँछ ।’
उनले यसअघि हालै भएको भारतीय गुप्तचर रअका प्रमुख सामन्तकुमार गोयलको नेपाल भ्रमण चाहीँ कुटनीतिक मर्यादाविपरित भएको तर्क गरे । उनले भने,‘रअ प्रमुखको नेपाल भ्रमणबारे उहाँहरुकै पार्टीमा कुनै छलफल र जानकारी नभएकोले नारायणकाजी श्रेष्ठ, प्रचण्ड र भीम रावलहरुले पनि आलोचना गरेका छन् ।’ नरवणेले स्वयम नेपाल आउनुपुर्व नेपालसँगको सम्बन्ध सुधारमा आफ्नो भ्रमण महत्वपूर्ण र फलदायी हुने भनेर अभिव्यक्ति दिएकोले आफूहरु द्धिपक्षीय सम्बन्ध सुमधुर हुनेमा विश्वस्त रहेको प्रधानको दाबी छ । उनले नेपाल भ्रमणमा आएका नरवणेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर भारत फर्कने पनि स्पष्ट पारे ।
FILE PHOTO/ReportersNepal