Logo

ओली सरकार असफल, ‘नेकपा र कांग्रेसमा केही फरक छैन्, दाजुभाई हुन्’ : यादव



काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता, सांसद तथा पूर्वमन्त्री महेन्द्रराय यादवले पार्टीले गतिविधि ठप्प नपारेको सुनाउँदै हालै विभिन्न कमिटीका बैठक बसेको सुनाए र तिहार र छठलगत्तै बैठक बसेर संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने स्पष्ट पारेका छन् ।  आज (बुधबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफ्नो पार्टीले पनि संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने र यसको लागि पार्टीको बैठक बसेर निर्णय गर्ने सुनाए ।

उनले जनता रोग र भोकले मर्ने अवस्थामा रहेको सुनाउँदै यो बेलामा संसदको बैठक बोलाउन आवश्यक रहेको जिकिर गरे । उनले भने,‘यो तिहार, छठलगत्तै संसदको विशेष अधिवेशन बोलाउनेबारे निर्णय लिन हाम्रो पार्टीको बैठक बोलाउँछौं । हामी त तयारीका साथ अघि बढ्छौं ।’  उनले सत्तापक्ष र प्रतिपक्षमा कुनै फरक नै नभएको टिप्पणी गरे । उनले भने,‘सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै दाजुभाई नै हुन् । संसदको अधिवेशन बोलाउन कांग्रेस खोई तयार भएको ? उसले के गर्छ ? वा गर्दैन् ? हामीलाई थाहा छैन् । तर, हाम्रो पार्टीले छलफल गर्छ । हामी अगाडि बढ्छौं । संसदको विशेष अधिवेशन बोलाउनुपर्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाए । उनले भने,‘उहाँले चालेका कदममा हाम्रो विमति छ । सरकारले केही प्रभावकारी काम गरेको छैन् । सरकारले जनतालाई केही राहत दिएन । यत्रो महामारीको बेलामा सरकारले हात उठायो । सरकार असफल भयो । यो सरकार त गैरजिम्मेवार भयो । सरकारले जनताको दुःखमा साथ दिएन् । सरकारको काम भनेको त आज यति जनालाई संक्रमण भयो, आज यति निको भए, र आज यति मरे भनेर गणनामात्रै गर्ने देखियो । के सरकारको काम यही मात्रै हो ? यो सरकारको दायित्व हो र ? दुई तिहाईको सरकारको धक्कु लगाउने । तर, सरकार असफल भयो । कति जनता भोकै मरिसकेका छन् । देश छोडेर खानको लागि भारत गए ।’ यादवले आफूहरु संविधानको रक्षक भएको सुनाउँदै थपे,‘हामीले संघीयता ल्याएका छौं । तर, संघीयतामाथि यो सरकारबाटै प्रहार भयो । नेपाली जनताले हामीलाई वैकल्पिक शक्तिको रुपमा अघि बढाउँछन् । हामी विश्वस्त छौं ।’ file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot