Logo

गति लिँदै नागढुंगा–नौबीसे सुरुङमार्ग



काठमाडौं, कार्तिक २० । कोरोना नियन्त्रणका लागि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भएसँगै नागढुंगा–नौबीसे सुरुङमार्ग निर्माणले गति लिन थालेको छ । सुरुङमार्ग निर्माणको ठेक्का पाएको हाज्मा÷आन्दो कर्पोरेशनबाट प्राविधिक टोली र मेशिन उपकरण आएसँगै सुरुङमार्गको प्वाल खन्ने काम अबको २ हप्ताभित्र शुरू गर्ने तयारी छ ।

नागढुंगा–नौबीसे सुरुङमार्ग आयोजनाले सुरुङमार्गको पश्चिमतर्फबाट (सिस्नेखोला) प्वाल खन्न शुरू गर्नेछ । पछि पूर्वी अर्थात् काठमाडौंको थानकोटतर्पmबाट पनि शुरू गरी दुवैतिरबाट प्वाल खनिने आयोजनाका कायममुकायम (कामु) आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए ।

कोरोनाका कारण आयोजना स्थल तथा प्राविधिक, मेशिनहरू ल्याउन र फिल्डमा काम गर्न ढिलाइ हुँदा सम्झौताअनुसारको समयतालिका प्रभावित भएको थियो । त्यसलाई समेत समेट्ने गरी अहिले काम भइरहेको उनले बताए ।

‘तालिकाअनुसार काम गर्न केही ढिलाइ भएको छ । तर, त्यसकै कारण सम्झौता अवधि लम्बिन सक्ने सम्भावनालाई अहिले नै व्यवस्थापन गरी निर्माणलाई अघि बढाउने लक्ष्य हाम्रो हो,’ शाक्यले भने, ‘अहिलेसम्मको काम हेर्दा समय थप गर्नुपर्ने सम्भावना देखिएको छैन ।’ सडक विभागसँग भएको सम्झौताअनुसार सुरुङमार्ग ४२ महीनामा सम्पन्न गरिसक्नुपर्नेछ ।

अहिले सिस्नेखोलालाई डाइभर्ट गर्ने र सोही साइटतर्फ सुरुङमार्गको प्वाल खन्नका लागि बक्स ब्रिज तयार भएको छ भने पूर्वतर्फ कल्भर्टहरू बनाउने, पहुँच मार्ग बनाउनेलगायत कामहरू भइरहेका छन् । ड्रिलिङ गर्ने काम पनि भइरहेको छ । यसका लागि जापानबाट २० जनाजति प्राविधिक आइरहेको र सोही संख्याका प्राविधिकहरू ल्याउनका लागि अनुमति दिने तयारी गरिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्