काठमाडौं, २० कात्तिक । नेपाली काँग्रेसभित्रको विवाद मिलाउन मध्यमार्गी मार्ग खोजिएको छ । त्यसका लागि सभापति शेरबहादुर देउवाले गठन गरेका विवादहरुलाई निष्कृय बनाएर बढ्ने गरी सहमति बनाउन खोजिएको छ ।
काँग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काका अनुसार सभापति देउवाले गठन गरेका विभागहरु निष्कृय गर्ने गरी सहमति खोजिनेछ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विभागहरुको खारेजीको माग गर्दै आएको छ । महाधिवेशनलाई प्रभावित पार्न विभाग गठन गरिएको पौडेल पक्षको तर्क छ । विभाग खारेज नगर्ने तर निष्कृय बनाएर जान देउवा सहमति भएको बुझिएको छ ।
काँग्रेसभित्र १४ औं महाधिवेशनको समेत चर्चा छ । महाधिवेशनको २०७७ सालभित्र नहुने निश्चित भइसकेको छ । अब जेठमा महाधिवेशन गर्ने तयारी भइरहेको छ ।
महाधिवेशनलाई दृष्टिगत गरी सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच पकड बलियो बनाउने गृहकार्य चलिरहेको छ । तर, दुवै पक्षका दोस्रो तहका नेताहरुले पनि सभापतिको दाबी गरेपछि काँग्रेसको राजनीतिमा तरंग आएको छ ।