Logo

‘प्रधानमन्त्रीले राजीनामा दिन्न भनेर अर्कै प्रसँगमा बोल्नुभएको थियो, मिडियाले प्रसँगबिना हेडलाईन लेखे’ : डा. राजन भट्टराई



काठमाडौं, २० कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओलीले हिजो राजीनामाको बारेमा बोलेको प्रसँग अर्कै भएको तर मिडियाले अर्कै ढंगले प्रचार गरेको टिप्पणी गरेका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकार धमलाले ‘प्रधानमन्त्रीले म राजीनामा दिन्न, मैले राजीनामा दिँदाखेरि देश बर्बादितिर जान्छ’ भनेर किन र के कारणले भन्नुभयो ? भनेर राखेको जिज्ञासमा उनले भने,‘त्यो प्रसँग नै अर्कै हिसाबले उहाँले बोल्नुभएको थियो हिजो बिहान, अब हामीकहाँ के छ भने मिडियाहरुले एउटा हेडलाईन बनाईदिन्छन्, भित्र के विषय र प्रसँगमा कुरा भएको थियो ? भन्ने कुरा नदिएको हुनाले उत्पन्न भएको भ्रम हो । उहाँले त प्रसँग के भन्नुभएको हो भने न्यूजहरु बाहिर आउँदाखेरि प्रसँगसहित आउनुपर्यो, अब अहिले म यहाँ छु, अब यहाँबाट राष्ट्रपतिकहाँ भेट्न जाँदैछु भने, यसको अर्थ राजीनामा दिन गयो भन्ने अर्थ होईन नि, अहिले म राजीनामा दिन भनेर जान लागेको त होईन । तर, कतिपयले चाहीँ राजीनामा दिनको लागि राष्ट्रपतिकहाँ गयो भन्दिन्छन् भनेर लेखेर बोलेको, त्यसलाई प्रसँग चाहीँ अर्को गरेर म राजीनामा दिन्न भन्यो भन्ने खालको । कसले राजीनामा मागेको छ र ? कसले दिने भनेको छ र ? प्रधानमन्त्रीले दिन्न भन्नुपर्ने अवस्था नै छैन नि । किन त्यसो भनिरहनुपर्यो ?’

उनले प्रधानमन्त्रीविरुद्ध आफ्नै पार्टीले अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भैरहेको छ अरे नि भनेर राखेको जिज्ञासमा पनि आफूहरुलाई त्यसबारेमा त्यति धेरै थाहा नभएको जिकिर गरे । उनले भने,‘यसबारेमा हामीलाई त्यति धेरै थाहा पनि छैन् । उहाँहरु गर्ने होईन भनिरहनुभएको छ, अब बाहिर चर्चा चाहीँ उहाँहरु अविश्वासको प्रस्तावको लागि हस्ताक्षर गर्दैहुनुहुन्छ भन्नेपनि आएको छ । मान्छे बोलाउँदै कतिपय साथीहरुलाई जबरजस्ती सही गराउँदै हुनुहुन्छ भन्नेपनि सुन्नमा आएको छ । तर, प्रष्ट बाहिर नआईकन त्यसबारेमा बोल्ने कुरा पनि भएन । यदि त्यस्तो काम भएको हो भने त्यो दुर्भाग्य हो ।’

पार्टीभित्रको विवाद छताछुल्ल भन्दापनि विवाद त पहिलेदेखि नै आईरहेको थियो भन्ने उनको भनाई छ । उनले भने,‘विवाद त पहिलेदेखि नै आईरनै रहेको थियो, आउन बाँकी के नै थियो र ? यदि उहाँहरु अन्तिम रुपमा लाग्नुभएको हो, वा अविश्वासको प्रस्ताव नै ल्याउन लाग्नुभएको हो भने उहाँहरु अन्तिम प्रयास गरौं भन्नेमा पुग्नुभयो भन्ने बुझ्नुपर्यो ।’

 



प्रतिक्रिया दिनुहोस्

Screenshot