Logo

‘भगवान त अपरिहार्य छैन, प्रधानमन्त्री श्री खड्गप्रसादले आँफैंलाई अपरिहार्य ठान्नु भ्रम हो’ : खड्का



काठमाडौं, २० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता, सांसद तथा पूर्वमन्त्री डा. नारायण खड्काले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमा ‘म नै राज्य हुँ’ भन्ने भ्रम रहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले किन हिजो ‘म राजीनामा दिन्न, मैले राजीनामा दिँदा देश बर्बादितिर जान्छ’ भन्नुभएको छ नि भनेर पत्रकार धमलाले राखेको प्रश्नमा उनले भने,‘यो के हो भने एउटा समय पुगेपछि मानिसमा एउटा भ्रम खडा हुन्छ क्या, भ्रम के भने अलिकति म नै राज्य हुँ, मेरै कारणबाट यो देश चलिराखेको छ भन्ने एउटा भ्रम जब मान्छेले बोक्छ, त्यतिखेर त्यो मान्छे कि अधिनायकवाद हुन्छ, तानाशाह हुन्छ, अराजक हिसाबले राज्यसत्ता चलाउँछ । त्यसैले लोकतान्त्रिक पद्धतीमा कोही पनि अपरिहार्य छैन् । कम्युनिष्ट शासनमा पनि चीनका राष्ट्रपति सि जिनपिङ (उहाँ पनि) अपरिहार्य हुनुहुन्न । त्यसकारण चाहीँ कोही पनि अपरिहार्य छैन् । हामीकहाँ त झण्डै तीन करोड भगवान भएको ठाउँमा, कोही एउटा भवगान नभएको बेलामा अर्को भगवानले काम चलाउने ठाउँमा भगवान त अपरिहार्य छैन भनेपछि प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीजीले आँफैंलाई अपरिहार्य ठानेर अब देशै बर्बाद हुन्छ भन्ने ठान्नु भ्रम हो, एउटा भ्रम भएपछि मानिसमा कता कता विचलन आउँछ क्या ऋषिजी । यो त मनोवैज्ञानिक कुरा हो ।’
आफूहरुसँग सदनमा बहुमत पनि नभएको र सरकारलाई च्यालेन्ज नगरेको खड्काको जिकिर छ । उनले भने,‘यदि पार्टीभित्रैबाट दबाब आएको हो भनेपनि यो कुरा पार्टीमा नै भने भैहाल्यो नि, बाहिर जनतामा भन्नुको अर्थ के हो ?’ File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्