Logo

केटीको विषयमा विवाद हुँदा, एक युवकको हत्या



काठमाडौं, २१ कात्तिक । केटी साथीको विषयमा विवाद हुँदा छुरा प्रहार गरी हत्या गरेको अभियोगमा  एक युवक पक्राउ परेका छन् । काठमाडौंको टोखामा गोरखा  घर भएका काठमाडौं धापासी बस्ने २५ वर्षीय आशिष मगरलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उदयपुरका २० वर्षीय रुपेश आले मगरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

रुपेशको समूह र मृतक आशिष मगरको समूहबीच कात्तिक १४ गते केटी साथीको विषयमा विवाद भएको थियो । विवाद बढ्दै जाँदा झडपको क्रममा रुपेशले आशिषलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका आशिषको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापश्चात फरार रुपेशलाई महानगरीय अपराध महाशाखाको प्रहरीले सुनसरी धरानबाट पक्राउ गरेको जनाएको छ । साथै घटनामा प्रयोग भएको छुरा काठमाडौं महानगरपालिका–३ बाँसबारी क्लब, गंगा गल्लीस्थित तरकारी बारीबाट प्रहरीले बरामद गरेको छ ।

घटनामा संलग्न रहेका अन्य तीन जनालाई गत शनिबार नै पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको र पक्राउ परेका रुपेशलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त महाराजगंज पठाएको उक्त महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot