Logo

प्रचण्डले बोलाएको सचिवालय बैठकमा केके भयो ?



कात्तिक २१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसमक्ष आग्रह गर्ने भएका छन् । शुक्रबार नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त्रीलाई भेटेर बैठकका लागि आग्रह गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन् ।

बैठकमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भएको भेटबारे आफूपक्षीय नेताहरूलाई जानकारी गराएका थिए । आफूसँगको भेटमा ओलीले सहमति बेगर बैठक बोलाए त्यो पार्टी फूटको बिन्दु हुनेछ भनेर चेतावनी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

कार्यकारी अध्यक्षलाई बैठक बोलाउने अधिकार भएपनि पार्टी एकता जोगाउन ओलीसँगको सहमतिमै प्रचण्डले सचिवालयको अनौपचारिक बैठक बोलाएको श्रेष्ठको भनाई थियो । स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा पार्टीमा समस्या आएको आफूहरूको निष्कर्ष रहेको बैठकपछि श्रेष्ठले जानकारी दिए ।

उनले अहिलेको परिस्थितिमा पार्टीमा जुनसुकै प्रकारको समस्या, गत्यावरोधको स्थिति देखापरेको भएपनि सहमतिका आधारमा बैठक बस्ने र पार्टी एकतालाई बचाउँदै विधि र पद्धतिका आधारमा लैजान अविलम्ब बैठक बोलाउनुपर्छ भन्ने निष्कर्ष रहेको बताए ।

भेलामा सहभागी अधिकांशले स्थायी कमिटी बैठकका निर्णय कार्यान्वयन नगर्दा समस्या आएको भन्दै ओलीलाई भेटेरै बैठक राख्न आग्रह गर्ने सुझाव प्रचण्डलाई दिएका थिए । ९ सदस्यीय सचिवालय मध्ये शुक्रबारको बैठकमा ५ सदस्य सहभागि थिए ।

बैठकमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री इश्वर पोखरे, गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहभागि हुनुभएन भने कार्यकारी अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागि थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot