Logo

मङ्सिरदेखि पर्यटकीय गतिविधि खुला हुन्छ: मन्त्री भट्टराई



सोलुखुम्बु, २१ कात्तिक: संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले आगामी मङ्सिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने बताएका छन् । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका¬–२ मा स्थिति काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणमा आएका मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै पर्यटकीय गतिविधि सञ्चालन गर्ने जनाएका हुन् ।

मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमन वर्षका रुपमा अघि बढाइने छ भन्दै कोरोनाबाट बच्नका स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा जोड दिए ।

विमानस्थल पुनः सञ्चालनमा ल्याइने

मन्त्री भट्टराईले मङ्सिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने पनि जानकारी दिए । गत पाँच वर्षदेखि बन्द सो विमानस्थल सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी साताको एक दिन भए पनि उडान शुरु गरिने बताए ।

सङ्घीय सांसद हेमकुमार राई ‘सुरवीर’ले आफूहरुको लामो प्रयासपछि मन्त्रीको निरीक्षणको भएकाले अब विमानस्थलको स्तरोन्नति हुने विश्वास व्यक्त गरे । प्रदेश नं। १ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले तीनै तहको सरकारको अनुदानबाटै भएपनि विमानस्थललाई नियमित सञ्चालन गर्नुपर्ने बताए । उनले काठमाडौँबाट र काँगेलबाट र विराटनगर–काँगेल पनि उडानका लागि तयारी गर्न आग्रह गरे ।

अर्का प्रदेशसभा सदस्य उत्तम बस्नेतले गाउँगाउँमा सडक पुगेसँगै काँगेलडाँडा विमानस्थल सञ्चालनको बलियो आधार बन्दै गएको बताए । नेकपा सोलुुखम्बुका अध्यक्ष मानवीर राईले विमानस्थल स्तरोन्नतिका लागि भएका पहल सकारात्म रहेको जनाए । गाउँपालिका अध्यक्ष असिम राईले विमानस्थगल पुनःसञ्चालनका लागि स्थानीय सरकार साझेदारी गर्न प्रतिबद्ध रहेको बताए ।

विसं। २०५२ मा निर्माण शुरु भएको विमानस्थलमा २०६३ सालदेखि उडान सेवा शुरु भएकामा विसं २०७२ मा उडान बन्द भएको थियो ।-रासस



प्रतिक्रिया दिनुहोस्