Logo

घरघरमै तिहारको माला



काठमाडौं, कार्तिक २२ । फूल उत्पादक किसान तथा व्यवसायीले यसपटकको तिहारमा अनलाइन कम्पनीसँग सहकार्य गरेर घरघरमै फूलमालाको सेवा दिने तयारी गरेको छ ।

कोरोना भाइरसको डरले मानिस घरबाहिर निस्किनका लागि स्वास्थ्य जोखिम बढ्दै गएको हुँदा फूल व्यवसायीले नजिकिँदै गरेको तिहारमा अनलाइनमार्फत मागअनुसार घरघरसम्म फूलमालाको सेवा दिने तयारी गरेको हो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजू श्रेष्ठले यसपटक कोरोनाका कारण मानिस फूलका माला किन्नलाई बजारमा भीडभाड गर्दा स्वास्थ्य जोखिमको डर भएकाले अनलाइन कम्पनीसँग मिलेर फूल मालाको सेवा उपभोक्ताको घरदैलोसम्म दिनसक्ने गरी तयारी गरेको जानकारी दिए ।

उनले दराजजस्ता अनलाइन कम्पनीसँग सहकार्य गरेर केही फूल व्यवसायीले अनलाइन कारोबार पनि सुरु गरिसकेको जानकारी दिए। उनले भने “फूल उत्पादक साथीहरूले लकडाउनदेखि नै आफ्नो फेसबुक पेजमार्फत अर्डर लिएर घरदैलोसम्म सेवा दिँदै आउनुभएको छ । तिहारमा फूलको बढी कारोबार हुने भएकाले अनलाइन कम्पनीमार्फत कारोबार गर्ने तयारी गरेका छौं । ”

अध्यक्ष श्रेष्ठले अनलाइनबाट अर्डर गरिएको फूलमाला बजार मूल्यअनुसार नै उपलब्ध गराइने र कसैले बजार मूल्यभन्दा बढी लिएमा एसोसिएसनमा जानकारी गराउन पनि स्पष्ट पारे । एसोसिएसनका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँ तिर्नुपर्ने गरी मूल्य निर्धारण गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्