जनकपुरधाम २२ कात्तिक: धार्मिक एवं पुरातात्विक सम्पदा कपिलेश्वर मन्दिरको संरक्षण र अभिलेख उपलब्धको खाँचो औल्याइएको छ । कपिलेश्वर मन्दिर युवा समितिद्वारा आज त्यहाँ आयोजित पत्रकार सम्मेलनमा सो खाँचो औँल्याउँदै पुरातत्व विभागले अभिलेखलाई अलपत्र पारेकाले अन्योलको अवस्था रहेको जानकारी दिइयो ।
पुरातत्व विभागबाट बेलाबेलामा आएको अध्ययन, अनुसन्धान टोली यहाँको विभिन्न मूर्ति र अभिलेख लागेर मन्दिरको इतिहास नै अन्योलमा पारेको बताइन्छ ।
जनकपुरधाम उपमहानगरपालिका–१६ मा रहेको गुम्बा आकारजस्तो देखिने सो मन्दिर शिखर शैलीको छ । धार्मिक ग्रन्थहरूमा उल्लेख भएअनुसार जनकवंशीय राजा शीरध्वजले जनकपुरधामको चारै दिशामा चारनाथको स्थापना गरेकामध्ये पूर्वउत्तरमा कपिलेश्वरनाथ पनि एक हुन् । भनिन्छ, कपिल मुनिको आश्रम पनि यही थियो । कालान्तरमा आएर यस मन्दिरको प्राचीन रूप ध्वस्त तथा लोप हुन गयो । केही पुरातत्वविद्को अध्ययनअनुसार यस प्रसिद्ध शिवालयको प्राचीन रूप सिमरौनढीय वास्तु शैलीमा निर्मित थियो ।
विसं १९९० को महाभूकम्पमा मन्दिर ध्वस्त हुँदा त्यहाँका अधिकांश मूर्ति रामन्दिरमा लगिएको बताइन्छ । स्थानीयवासीका अनुसार त्यहाँ रहेको जोगिन्दर माताका मूर्ति पनि राममन्दिर लगेर स्थापना गरिएको छ । सो मन्दिरको चारैकुनामा सानो शिखर शैलीको मन्दिर बनाई भगवान्हरू स्थापना गरिएका छन् । मुख्य शिवलिङ्ग भएको ठाउँबाट उत्तर–पूर्व र दक्षिणका दिवालमा तखता बनाई शिव, बसाहा आदि स्थापित गरिएका छन् ।
जलाद नदी पनि पहिले यही मन्दिरको उत्तर–पूर्व भएर बग्दथ्यो भन्ने विशवास छ । समाजसेवी श्याम पूर्वेका अनुसार ५६ कुलदेवता र ३६ वर्णको बसोबास रहेको कपिलेश्वरमा पाइलापाइलामा देवताको बास छ, मन्दिरको अर्बौ सम्पत्ति भए पनि अभिलेख अभावका कारण अलपत्र रहेको छ ।
सम्मेलनमा वडाध्यक्ष रामअशीषले पजियार वर्तमान मन्दिर निर्माण बखत शिवलिङ्गमा नागमा बस्ने गरेको, नागलाई समाति नजिकैको फूलबारीमा पु¥याउँदा पुनः शिवलिङ्गमा नै आएर बस्ने गरेको जनश्रुति रहेको बताए । पूर्व वडाध्यक्ष विक्रम पजियारले मन्दिरमा कमरिया बाबाले भगवान् शिवको शिवलिङ्ग स्थापना गराएका हुन् । वर्तमान मन्दिरको निर्माण स्थानीयवासी तथा यज्ञप्रसाद अधिकारीको सक्रियतामा पुरातत्व विभागबाट रु दुई-अढाई लाख रकम ल्याएर गरिएको हो ।
युवा समितिका अध्यक्ष तुलसी पंजियारले मन्दिरको अभिलेख अलपत्र रहेका कारण संरक्षण र विकासमा समस्या व्यहोर्नु परिरहेको बताए । गुठी संस्थान अधिनस्थ रहेको सो मन्दिरमा साउन महिना, शिवरात्रि र सङ्क्रान्तिमा श्रद्धालुको भीड लाग्ने गरेको छ ।-रासस/File photo