रुकुमपूर्व, २२ कात्तिक: रुकुमपूर्वका विभिन्न क्षेत्रमा यतिबेला गहुँ र जौँ छर्ने काम चलिरहेको छ । कोरोना महामारी र कामको चटारोको बीचबाट दशैँलाई बिदाइ गरेका उनीहरुलाई अहिले पनि बारीमा गहुँ, मकै रोप्ने र डल्ला फोर्ने चटारो छ । प्रायःजसो ठाउँमा वर्षभरमा दुई बाली या तीन बालीसम्म स्याहार्ने गरिन्छ तर जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको केही क्षेत्रमा एक वर्षमा एक बाली मात्र भित्र्याउने गरिन्छ । पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नं १ र २ का नागरिकले अन्य ठाउँको जस्तो गहुँपछि मकै र मकै भित्र्याएपछि गहुँ लगाउँदैनन् ।
वडा नं १ र २ को मैकोट, पेल्मालगायत ठाउँमा वर्षभरिमा एक बाली मात्रै उत्पादन हुन्छ । गहुँ छर्ने ठाउँमा भने मकै नरोपेर जग्गा बाझै राख्नुपर्ने मैकोटका कर्मशाही घर्तीमगरले बताए । असोज–कात्तिकमा लगाएको गहुँ असार–साउनमा पाक्ने भएकाले त्यसपछि मकै लगाउने जग्गा चैतसम्म बाझै राख्नुपर्ने उनको भनाइ छ । त्यस क्षेत्रमा असार वा साउनमा लगाएको मकै फल्दैन । राम्रो मकै उत्पादन गर्ने हो भने चैतमा नै मकै लगाउनुपर्ने वडा नं १ का बरुण पुनले बताए ।
हिमाली क्षेत्र भएकाले बाली समयमै नपाक्ने स्थानीयवासीले बताएका छन् । फागुन–चैतमा आलु लगाउने त्यस क्षेत्रका जग्गा पनि अर्को चैतसम्म बाझै हुन्छन् । फागुन–चैत्रमा लगाएका आलु भदौ–असोजमा निकालिन्छ । त्यसपछि जग्गा चैतसम्म बाझै रहन्छ । केही समयमा हिउँ जमिरहने र जलवायु परिवर्तनका कारण वर्षमा एक बाली मात्र भित्र्याउने गरेको कर्मशाहीले बताए ।
धेरै जग्गा जमिन हुनेहरुको भने वर्षको एक बालीले मात्र भए पनि खान पुग्छ तर थोरै जग्गा जमिन हुनेहरुका लागि समस्या छ । त्यस्ता व्यक्तिहरुले जडीबुटी सङ्कलन गरेर घरखर्च चलाउने गरेका छन् भने कतिपय भारतमा गई कमाइ गरी घर खर्च चलाउने गरेका छन् । यस्तै पछिल्लो समयमा त्यहाँका कतिपय नागरिकले एक बाली अन्न पनि उत्पादन गर्न छोड्दै गएका छन् । दुःख धेरै हुने र आम्दानी न्यून हुने भएकाले मानिसहरुले दुःख गर्न छाडेको वडा नं २ पेल्माका जगधन घर्तीले बताए । मानिसले खेतीपाती गर्न छाड्दै गएपछि भएका जग्गा पनि बाझिँदै गएको उनले बताए ।-रासस/File Photo