Logo

तङ्ग्रिन थालें दमौलीका होटल व्यवसाय



दमौली, २२ कात्तिक: कोरोना भाइरस सङ्क्रमणका कारण पर्यटकको आवागमन घटेपछि सबैभन्दा ठूलो मारमा परेका दमौलीका होटल व्यवसाय पछिल्लो समय तङ्ग्रिने प्रयासमा छन् ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको व्यास नगरपालिका–५ मानहुँकोटका कारण यतिबेला दमौलीका अधिकांश होटल भरिभराउ भएका हुन् । राति बास बसेर बिहानै मानहुँकोटमा पुगेर सूर्योदय हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली आउन थालेका छन् ।

दमौलीस्थित होटल साइनका सञ्चालक जीवन शाहीले एकहप्तादेखि होटल भरिभराउ रहेको जानकारी दिए । “कोभिड–१९ ले धाराशायी भएको होटल व्यवसाय मानहुँकोटका कारण तङ्ग्रिने प्रयासमा छ, एक हप्तादेखि आन्तरिक पर्यटकका कारण होटल प्याक छ”, उनले भने, “दैनिकजसो कोठा नभएर पर्यटक फिर्ता पठाउनुपर्ने अवस्था आएको छ ।”

शाहीको होटलमा ११ कोठा रहेकामा दैनिक २०-२५ जना पर्यटक बास बस्ने गरेका छन् । “मानहुँकोटले बाहिरी जिल्लाका आन्तरिक पर्यटक ह्वात्तै तान्यो, व्यवसाय ठप्प रहेको बेला राहत मिलेको छ”, उनले भने। मानहुँकोट दमौलीवासीको लागि गर्व गर्ने ठाउँ रहेकाले यहाँ घुम्न आउने पर्यटकको सुरक्षा प्रबन्धमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको शाहीको सुझाव छ ।

व्यास नगरपालिका–५ चापाघाटस्थित न्यु ड्रागन होटलका सञ्चालक दिनेश खनालले एक हप्तादेखि होटल भरिभराउ रहेको जानकारी दिए । “कोरोनाले सुस्तायो होटल व्यवसायलाई मानहुँकोटले उर्जा भरिदिएको छ”, उनले भने, “मानहुँकोट जान आएका पर्यटक बास बसेका कारण होटलका सबै कोठा प्याक छन् ।” उनका अनुसार होटलमा २० कोठा रहेकामा सबै भरिभराउ छन् ।

व्यास नगरपालिका–३ मुख्यचोकस्थित पञ्चम होटलका सञ्चालक राजकुमार श्रेष्ठले दैनिक २५-३० जना आन्तरिक पर्यटकले आफ्नो होटलमा रात बिताउने गरेको जानकारी दिए । “चार-पाँच दिनदेखि ११ वटा कोठा सबै भरिभराउ अवस्थामा छ,” उनले भने ।

क्षेत्रीय होटल सङ्घ तनहुँका वरिष्ठ उपाध्यक्ष विकास खनालले यतिबेला दमौलीका अधिकांश होटल आन्तरिक पर्यटकले भरिएको जानकारी दिए । “मानहुँकोट निकै चर्चामा आएपछि देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक दमौली ओइरिएका छन्, जसकारण अधिकांश होटल भरिभराउ भएका छन्,” उनले भने, “कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पाहुना राख्न होटल व्यवसायीलाई अनुरोध गर्दै आएका छौ ।”

सामाजिक सञ्जालमा निकै भाइरल बनेको मानहुँकोटमा सूर्योदय हेर्नका लागि दैनिक एक हजार भन्दा बढी पर्यटक पुग्ने गरेको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । फेसबुक, टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल बनेको मानहुँकोटमा बिहानै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको हो । राति मानहुँकोटमै बास बस्नेको सङ्ख्या पनि उल्लेख्य रहने गरेको छ ।

पछिल्लो एक हप्ताको अवधिमा मानहुँकोटमा पर्यटकको घुइँचो बढेको श्रेष्ठले जानकारी दिए । “दैनिक करिब एक हजार भन्दा बढी पर्यटक मानहुँकोट आएका छन्”, उनले भने, “सञ्चारमाध्यमबाट मानहुँकोटको प्रचारप्रसारमा महत्वपूर्ण सहयोग मिलेको छ ।

मानहुँकोटमा पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटकीय पूर्वाधार निर्माण पनि शुरु भएको छ । व्यास नगरपालिकाले रु ३६ लाख ५० हजारको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण शुरु गरिसकेको छ । थप पूर्वाधार निर्माण गर्ने नगरपालिकाको योजना छ । मानहुँडाँडाबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै डाँडाको छेउमा रेलिङ निर्माण गरिएको छ ।

मानहुँकोटबाट पाँच वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । साथै दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युत्को ड्याम निर्माण स्थल एवं मनोरम दृश्यहरु यहाँबाट देखिन्छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्