Logo

नेकपा विवादः बालुवाटारमा घोचपेच शैलीमा संवाद हुँदा बैठक अनिश्चित



काठमाडौं, कार्तिक २३। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको शक्ति संघर्ष उत्कर्षमा पुगेको बेला पार्टी बैठक अनिश्चित बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीको सचिवालय बैठक बस्न अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका पाँच नेताले गरेको आग्रहपश्चात् समेत सहमति जुट्न नसक्दा बैठक अनिश्चित बनेको हो ।

अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रूपमा अध्यक्ष ओलीसँग बैठकका लागि लिखित रूपमै आग्रह गरेका छन् । भेटका क्रममा नेताबीच ‘घोचपेच’ शैलीमै छलफल सुरु भएपछि बैठक बस्ने विषयमा सहमति जुट्न नसकेको नेकपा स्रोतको भनाइ छ ।

शनिबार अध्यक्ष दाहालसहितका नेताहरू प्रधानमन्त्री निवास बालुवाटार पुगेर लिखित रूपमै बैठकका लागि आग्रह गरेका हुन् । शनिबार र शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक छलफलपश्चात् अध्यक्ष दाहालसहितका नेताले सामूहिक रूपमै बैठक बस्न आग्रह गर्ने निष्कर्ष निकालेका थिए ।

नेकपा प्रवक्ता श्रेष्ठका अनुसार पार्टी एकताको रक्षा एवं समग्र विषयमा छलफलका लागि सचिवालय बैठक बस्नुपर्ने बताए । अध्यक्ष दाहालसहित सचिवालयका पाँचै जना नेताले सामूहिक रूपमै अर्का अध्यक्ष ओलीसँग भेटेरै बैठकका लागि आग्रह गरिएको उनले बताए ।

गत २६ भदौमा सकिएको स्थायी कमिटीको निर्णय कार्यान्वयनमा समस्या देखिएपछि अध्यक्ष दाहालसहितका नेताले प्रधानमन्त्री ओलीलाई सचिवालय बैठकका लागि दबाब दिएका छन् । आफूविरुद्ध गुटबन्दी भएको बताउँदै ओलीले बैठक बोलाउन नचाहेको बताइएको छ ।

बैठकको आवश्यकताबारे स्पष्ट गर्दै अध्यक्ष दाहालले विगतका कुरासमेत गरेका छन् । भदौमा सम्पन्न स्थायी कमिटीको निर्णय कार्यान्वयन नभएको बताउँदै अध्यक्ष दाहालले यसबीच थप समस्यासमेत भएकाले बैठक बसेर छलफल गर्नुपर्ने मत राखेको नेकपा स्रोतले जनाएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot