Logo

फरक पहिचान सहित अमेरिकाको पहिलो महिला उपराष्ट्रपति, कस्तो रह्यो उनको यहाँसम्मको यात्रा?



एजेन्सी, २४ कार्तिक। अमेरिकाको राष्ट्रपति चुनाव अधिक चाखलाग्दो र रोचक रह्यो। जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै ४६ औँ राष्ट्रपति चयन भए। यसैगरी अमेरिकामा पहिलो पटक एक महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्। कमला ह्यारिसले उपराष्ट्रपति पदका लागि चुनाव जितेकी हुन्।

को हुन् कमला ह्यारिस?

अमेरिकाको पहिलो महिला उपराष्ट्रपतिका रुपमा चुनिएकी कमल ह्यारिसका थप पृथक पहिचान पनि छन्।
उनी उपराष्ट्रपति पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एशियन–अमेरिकन मूलकी हुन्।

उनी भारतीय आमा श्यामला गोपालन ह्यारिस र जमैकाका बाबु डोनाल्ड ह्यारिसकी छोरी हुन्। कमला ह्यारिसको जन्म सन् १९६४ मा अमेरिकाको क्यालिफोर्नियास्थित अकल्याण्डमा भएको हो। उनी सात वर्षको हुँदा उनका बाबुआमाको सम्बन्धविच्छेद भएको थियो। त्यसपछि उनी र उनकी बहिनी आमासँगै बस्न थाले। श्यामलाले उनलाई बाबु बिना नै एक्लै पालिन्। उनी भारतीय संस्कार र हिन्दू संस्कृतिमा हुर्किइन् र आफ्नी आमासँगै भारतमा आइरहिन्।

कमला ह्यारिस १२ वर्षको हुँदा उनी क्यानडाको क्युबेक गएकी थिईन्। क्युबेकमा बस्दा उनीप्रतिको राजनीतिक अभिरुचि पनि जागृत भएको थियो। त्यहाँ उनले घरधनीहरुले आफ्नो मैदानमा छिमेकका बालबालिकाहरुलाई खेल्न नदिने गरेको विषयमा आन्दोलन गरेकी थिइन्।

आफ्ना आमाबाबु जस्तै उनी पनि अधिक पढेलेखेकी छन्। ह्यारिसले क्यानडाको वेस्टमाउन्ट हाइस्कुलमा अध्ययन गरिन्। तर, पछि उनी पुनः अमेरिका फर्किएर क्यालिफोनिर्याको होवार्ड युनिभर्सिटीमा अध्ययन गरेकी थिईन्। उनी १९९८ मा ब्राउन यूनिभर्सिटीबाट ग्रेजुएट भइन्। उनी कानूनको अध्ययनका लागि युनिभर्सिटी अफ क्यालिफोर्नियामा गएकी थिईन्।

कस्तो रह्यो उनको राजनीति यात्रा?

ह्यारिस अमेरिकी उपराष्ट्रपति बन्नेसम्मको यात्रा अधिक रोचक र चाखलाग्दो रह्यो। सन् १९९० मा कमला ह्यारिस क्यालिफोर्नियाको अलामेडाको सहायक डिस्ट्रिक अधिवक्ता बनेकी थिइन् र राजनीतिक करियरमा उनको यो पहिलो पाइला थियाे। सन् १९९८ मा उनी सन फ्रान्सिस्को डिस्ट्रिक एटोर्नी कार्यालयको करियर क्रिमिनल युनिटकी म्यानेजिङ एटोर्नी (अधिवक्ता) बनेकी थिईन्। त्यसपछि उनी २०१० मा क्यालिफोर्नियाकी महान्यायाधिवक्तामा निर्वाचित भइन्। यो पदमा पुग्ने उनी पहिलो अश्वेत र महिला पनि हुन्।

उनले सन् २०१७ मा क्यालिफोर्नियाको संयुक्त राज्य सिनेटरका रुपमा शपथ लिएकी थिईन्। उनी यस्तो पदमा पुग्ने दोस्रो अश्वेत महिला थिईन्।

विस्तारै उनी मानिसहरुका बीच चर्चित हुँदै गइन्। खासगरी उनको भाषण ‘ब्याक लाइभ्स म्याटर’ अभियानका क्रममा अधिक समर्थन प्राप्त भयो। उनी सिस्टमेटिक रेसिजमलाई अन्त्य गर्नुपर्ने आवश्यकतामाथि प्रायः बोलिरहन्छिन्।

२१ जनवरी २०१९ मा उनले २०२० को राष्ट्रपति चुनावका लागि आफ्नो उम्मेद्वारी दर्ता गराएकी थिईन्। यद्यपी, उनले ३ डिसेम्बर मा उक्त उम्मेद्वारीबाट आफ्नो नाम फिर्ता लिईन् र तब देखि नै बाइडेनको आउटस्पोकन सपोर्टर रहिन्। राष्ट्रपतिको उम्मेद्वार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो।

कमला ह्यारिस अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको निकट मानिन्छिन्। उनलाई बाराक ओबामाले पनि धेरै निर्वाचनमा समर्थन गरेका थिए, जसमध्येको एक निर्वाचन सन् २०१६ को सिनेटको निर्वाचन पनि हो। ओबामा अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति हुन्। उनकै पाइला पछ्याउँदै अहिले ह्यारिस पहिलो अश्वेत उपराष्ट्र बन्ने पक्का भएको छ।

फरक पहिचान

अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति निर्वाचित भएकी कमला ह्यारिसको बहुजातिय पहिचानले गर्दा यो पटक केही अरू कुराहरू पनि पहिलो पटक नै भएको हुनेछ।

अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका छन्। सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो।

यद्यपी, हालसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन्।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्