Logo

पार्टी विवादको छाया संसद्‍मा पनि



काठमाडौं, कार्तिक २५ । सत्तासीन नेकपाको आन्तरिक विवादको छाया संसदीय समितिमा देखिएको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा पार्टीको आन्तरिक समीकरणअनुसार नेकपाका सांसदहरू विभाजित भएर प्रस्तुत भएका हुन्।

एकरुपता ल्याउन भन्दै देशको नाम नेपाल मात्र राख्ने सरकारको निर्णयको पक्षमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षधर सांसदहरू उभिए। अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता त्यसको विपक्षमा रहे। दाहाल र नेपाल पक्षधर सांसदहरूको बलमा समितिले देशको नाम नेपाल मात्र राख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ।

मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले नेपालको औपचारिक नाम नेपाल मात्र राख्ने र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्ने निर्णय गरेको थियो। संघीयता र संविधानको मर्म एवं भावनाविपरीत सरकारको निर्णय गरेको भन्दै दाहाल र नेपाल पक्षधर सांसदले समिति बैठकमा विरोध जनाएका थिए।

दाहालनिकट पम्फा भुसाल, रेखा शर्मालगायत सांसदले जनताको रगत र पसिनाबाट आएको संघीयताको भावनाविपरीत सरकारले निर्णय गरेको भन्दै सरकारको निर्णयमा रोक लगाउनुपर्ने माग गरेका थिए। वरिष्ठ नेता नेपाल पक्षधर लालबाबु पण्डित, झपट रावललगायतले संघीय लोकतान्त्रिक गणतन्त्र शब्दावली प्रयोगमा आइसकेकाले सरकारले यतिबेला परिवर्तन गर्नु आवश्यक नभएको बताएका थिए। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot