Logo

कोरोना जोखिमबीच दक्षिणबाट बाक्लो दौड



काठमाडौं, २५ कात्तिक । कोरोना भाइरसको महामारीका बीच भारतबाट उच्च अधिकारीहरुको महत्वपूर्ण भ्रमणहरु हुनथालेको छ । दुई देशबीच सीमा समस्याका कारण सम्बन्धमा केही चीसोपन आएपनि पछिल्ला भ्रमणहरुले सुधारका संकेतहरु दिनथालेको छ ।

दुई महिना अगाडि नै दुई देशबीचको संवादहीनतामा आइसब्रेक भइसकेको छ । त्यसपछि भारतका गुप्तचर निकाय रअका प्रमुख सामन्त गोयल विशेष विमानबाट नेपाल आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर फर्किए । यसै महिना भएको भ्रमणले राजनीतिमा तरंग ल्यायो ।

गोयलको भ्रमणलगत्तै भारतीय सेनापति मनोज मुकुन्द नरवणे तीन दिवसीय नेपाल भ्रमणमा आए । उनले मानार्थ प्रधानसेनापतिको दज्र्यान्ही पनि लिएर फर्किए । सैन्य तहमा सम्बन्ध सुधार्न उनको भ्रमण महत्वपूर्ण सावित भयो ।

नरवणेको भ्रमणलगत्तै भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणको मिति तय भइसकेको भनी हिन्दुस्तान टाइम्सले लेखेको छ । भ्रमण मंसिर महिनामा हुने बुझिएको छ ।

नेपालसँग पारिवारिक साइनो समेत भएका श्रृंगलाको आसन्न भ्रमणलाई अर्थपूर्ण मानिएको छ । उनको भ्रमणले दुई देशबीच बाँकी रहेका समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । सीमालगायतका समस्यामा छलफल अगाडि बढेको सन्देशका रुपमा समेत यसलाई लिइएको छ ।

कोरोना भाइरसको महामारीबीच भारतबाट उच्च तहको भ्रमण हुनु अर्थपूर्ण हो । यसपछि नेपालबाट पनि भारतमा उच्च तहको भ्रमण हुने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot