काठमाडौं, २५ असोज । कुनै चमत्कार भएमा मात्र नेपाल कम्युनिस्ट पार्टी फुटबाट जोगिने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आ-आफ्नो अडानबाट टसमस नभएपछि नेकपा फुटको नजिक पुगेको हो ।
सचिवालय बैठक डाक्न दुई दिनको लिखित अल्टिमेटम दिएपनि अध्यक्ष ओलीले अस्वीकार गरेपछि धुम्बाराहीमा पाँचजना सचिवालय सदस्यको बैठक तय भएको छ । यसलाई सचिवालय बैठककै रुपमा लिएर गम्भीर निर्णयहरु लिने तयारी भएको छ ।
ओलीले सरकार सञ्चालनमा एकलौटी गरेको प्रचण्ड र माधव नेपाललगायतका नेताहरुको तर्क रहेको छ । तर, ओलीले सरकार प्रधानमन्त्रीले चलाउने भन्दै हस्तक्षेप नगर्न चेतावनी दिदै आएका छन् । विगतको सहमति कार्यान्वयन नभएको प्रचण्ड र नेपालसहितका नेताहरुको भनाई छ ।
नेकपाभित्र ओलीको आफ्नै अडान छ । उनले आफ्ना निकटस्थमार्फत् सार्वजनिक रुपमै पार्टी फुटको नजिक रहेको संकेत गरेका छन् । ओलीका विश्वासपात्र मानिएका इश्वर पोखरेल र विष्णु पौडेलले पार्टी फुटको खतरा औल्याइसकेका छन् । ओलीले पनि प्रचण्डलाई आ-आफ्नो बाटो लागौ भनेको विषय बाहिर आयो । यसरी ओली र उनीइतर समूहको फरक तयारी स्पष्ट भइसकेको छ ।
ओलीले कुनै हालतमा प्रधानमन्त्री पद नत्याग्ने सार्वजनिक रुपमा बताइसकेका छन् । उनीमाथि पद त्यागको दबाब बढेको छ । अविश्वासको प्रस्ताव देखि पार्टी कमिटीबाट निर्णय गरेर सरकारबाट फिर्ता बोलाउने योजना बनेको छ । त्यही बुझेर ओली पार्टी बैठक टार्दै आएका छन् । बरु उनले आफूविरुद्धको घेराबन्दी तोड्न कहिले प्रचण्ड त कहिले माधव नेपाललाई फकाउन खोजेका छन् । वामदेव गौतमलाई फकाउन राष्ट्रपति विद्या भण्डारीले समेत पहल गरेको खुलेको छ । विष्णु पौडेल वामदेवलाई भेट्न जाँदा उल्टै समय लिएर मात्र आउन भनी हप्की पाएका थिए । पौडेल खुमलटार र कोटेश्वर धाउँदै आएका छन् । तर, यसपटक ओलीको अस्त्रबाट तितरवितर नहुने विरोधी मोर्चाको छाँटकाँट छ ।
अवस्था यस्तो भइसकेको छ कि नेकपा तिहार लगत्तै कुनै गम्भीर दुर्घटनामा पर्न सक्छ । यद्यपि वरिष्ठ नेता माधवकुमार नेपालले कुनै व्यक्तिको लहडमा पार्टी नफुट्ने बताइसकेका छन् । उनी मध्यमार्गी मार्गबाट पार्टी एक बनाएर जाने पक्षमा छन् । नेपाललाई प्रधानमन्त्री बन्ने मौका पनि आएको छ । ओली र प्रचण्डबीचको टकरावमा नेपाल शक्तिशाली मात्र भएका छैनन् प्रधानमन्त्री उनको मुखमा आइरहेको विश्लेषण भइरहेको छ ।
प्रचण्ड कुनै हालतमा ओलीसँग मिल्ने पक्षमा छैनन् । यसले दुई नेताबीच वार पारको अवस्था बनेको छ । आफू हट्नुपरेमा ओलीले पार्टी विभाजन सम्मको तयारी गरेको खुलिसकेको छ । उनले विगतमा पनि पार्टी विभाजन गर्न सजिलो हुने गरी राजनीति दलसम्बन्धी अध्यादेश ल्याएका थिए । ओली निकटस्थले उदाइरहेको सूर्य चिन्ह लिएर नेकपा एमाले पार्टी दर्ता समेत गरेका छन् । यसलाई गम्भीर दुर्घटनाको खतराका रुपमा लिइएको छ । नेकपाभित्र विगतमा संकट टरेको मात्र थियो समाप्त भएको थियो । दशैंयता यो संकट गहिरिदै गएको छ ।
नेकपाभित्र संकट टार्न विभिन्न विकल्पबारे छलफल भइरहेको छ । दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरणको विषय नउठेको होइन । तर, यसलाई ओलीको अस्त्र मात्र भनिएको छ । विगतमा वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ओलीले सारेका थिए । तर, गौतम मन्त्री समेत बन्न पाएनन् । उमेर हद राखिएको नेकपा एमाले माओवादीसँग मिल्दा त्यो हटाइएको थियो ।
उमेर चढेपछि पार्टी विधानसमेत परिवर्तन गर्ने नेकपाका ७० कटेका र आसपासमा पुगेका नेताहरुले सजिलै दोस्रो पुस्तालाई सत्ता हस्तान्तरण गर्ने सम्भावना क्षीण छ । यसले नेकपालाई गम्भीर दुर्घटनातर्फ बढाउँदैछ । यसलाई टार्न मध्यमार्गी र दोस्रो पुस्ताका नेताहरु अन्तिम प्रयासमा छन् । तर, उनीहरुको पनि आफ्नै राजनीतिक भविष्य सुरक्षा गर्ने दाउ छ । यसबीच कतिपय नेताहरु गुट परिवर्तनमा लागे । कतिपय यता न उता लाग्दा कमजोर बनेका छन् ।