काठमाडौंँ, २५ कात्तिक: नख्खु कारागार तोडेर उम्किन सफल राजनीतिकर्मी वीरबहादुर लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट पार्टीको झण्डा ओढाई श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
तत्कालीन नेकपा(एमाले)का केन्द्रीय सल्लाहकार र केन्द्रीय कमिटी सदस्य तथा नेपाल लोकतान्त्रिक तामाङ संघका संस्थापक अध्यक्ष लामा तत्कालीन कोअर्डिनेशन केन्द्र, माले हुँदै झापा आन्दोलनका मोर्चामा सहभागी भएका थिए । पुराना कम्युनिष्ट नेता लामा नेपाली राजनीतिमा २०३३ साल चैत १२ गते राति भएकोे ‘नख्खु जेलब्रेक’ को घटनाका मुख्य व्यक्तित्व थिए । तत्कालीन नेकपा(एमाले)का नेता लामाको आइतबार पाटन अस्पतालमा उपचारका क्रममा ७० वर्षका उमेरमा निधन भएको हो ।
उनको शव काठमाडौंँको स्वयम्भूस्थित गुम्बामा राखिएको छ । रोजगारीका लागि खाडी मुलुक गएका कान्छा छोरा कुन्साङ आएपछि बुधबार मात्रै उहाँको लामा परम्परानुसार अन्त्येष्टि गरिने जनाइएको छ । स्वयम्भूमा आयोजित शोेकसभामा नेता नेपालले स्व लामाप्रति अन्तिम श्रद्धाञ्जलि तथा परिवारमा समवेदना प्रकट गर्दै उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक सादगी र इमान्दार व्यक्ति गुमाएको धारणा राखे । श्रद्धाञ्जलि कार्यक्रममा नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डे, माधवप्रसाद पौडेल, केन्द्रीय सदस्य नीरज आचार्य, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका उपाध्यक्ष पासाङ शेर्पा, सचिव रामचन्द्र बल, नेकपा मकवानपुरका नेता तथा स्व वीरबहादुरका ज्वाइँ जीवन लामालगायत सहभागी थिए ।
चवालीस वर्षअघि नख्खु कारागार तोडेर भाग्नेमध्येका एक लामा दुई वर्षदेखि उच्च रक्तचाप र मधुमेह रोगबाट पीडित थिए । लामाले दुवै मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलसिस गराइरहनुभएको थियो । विसं २०३३ चैत १२ गते उनीसहित तत्कालीन मालेका महासचिव सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, माधवप्रसाद पौडेल, नारद वाग्लेलगायत १५ जना कारागार तोडी भागेका थिए । उनीहरुमध्ये १३ जना फाखेल मकवानपुरस्थित सलेमले डाँडाको जंगलमा एक महिनासम्म लुकेर बसेका थिए । लामाकै अग्रसरतामा नख्खु कारागारमा रातारात सुरुङ खन्ने काम भएको थियो । महासचिव मैनालीको निर्देशनअनुसार लामा र पौडेलले सुरुङ खन्न थालेपछि अरूले पनि साथ दिएका थिए । लामा रातभर सुरुङ खन्ने काममा खटिनुहुन्थ्यो र दिनभर सुत्थे । एक महिनामा ६५ हात लामो सुरुङ खनेपछि त्यहींँबाट उनीहरु भागेका थिए ।
आफ्नो विचार हक्कीसाथ राख्ने लामालाई २०३२ वैशाख १९ मा अन्तरराष्ट्रिय मे दिवसका दिन प्रहरीले काठमाडौंँबाट पक्राउ गरेको थियो । झापा संघर्षको समर्थन गर्दै राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा पर्चा छर्ने क्रममा उनी समातिएका थिए । उक्त पर्चा काठमाडौँस्थित नेपाल कोरीया मैत्री संघको कार्यालयमा तयार गरिएको थियो । पक्राउ पर्नुअघि लामा मैत्री संघमा कार्यालय सहयोगीका रुपमा जागिरे थिए । प्रदीप नेपाल, पाण्डे, पौडेल, शाक्यलगायत मिलेर मुस्लो समूह नामको संगठन खोलेका थिए । त्यही संगठनका नाममा काठमाडौँमा पर्चा छरिएको थियो । पर्चा छरेकै कारण अदालतले लामालाई पाँच वर्ष कैद र रु पाँच हजार जरिवाना गरेको थियो । कैद भुक्तानी गर्ने क्रममा नै भद्रगोल कारागार हुँदै पौडेल, नेपालसहित लामालाई पनि नख्खु कारागार पु¥याइयो । त्यहींँ मैनालीलगायत अरू नेतासँग लामाको भेट भएको थियो । लामाकै अगुवाइमा २०३७ सालमा फाखेलमा बसेको मालेको केन्द्रीय समिति बैठकले क्रान्तिको नयाँ कार्यदिशा पारित गरेको थियो ।
लामा २०४९ मा मकवानपुर जिल्ला विकास समितिका सभापति थिए । उनकै पहलमा कुलेखानी, फाखेल–फर्पिङ सडक निर्माण भएको हो । भीमफेदी हुँदै कुलेखानीसम्म १६ किमी सडक नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको थियो । उक्त सडकमा प्राधिकरणका बाहेक अन्य सवारी चल्न पाउँदैनथे । लामाको अगुवाइमा उक्त सडक सबैका लागि सहज पारिएको थियो । विसं २०५६ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नं ३ बाट लामा निर्वाचित भएका थिए । जिविस सभापति र सांसद हुँदा पनि उनको आर्थिक जीवनमा कुनै परिवर्तन भएन । अर्थाभावकै कारण उपचार गर्नसमेत समस्या भयो । पछिल्लो पटक अस्पतालले बेहोश भएपछि मात्र भर्ना लियो, जुन बेला उनको अवस्था जटिल भइसकेको थियो । परिवारले उपचारमा सहयोग गरिदिन सरकार र विभागीय मन्त्रीसंँग अनुनय गरेका थिए ।
पछिल्लो पटक चार पटक कोरोना नेगेटिभ रिपोर्ट आएपछि मात्र अस्पतालले जटिल स्वास्थ्यावस्था भनी सघन उपचार कक्षमा भर्ना लियो । अन्ततः आइतबार बिहान ४ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे । विसं २०६८ मा अशोककुमार राईसंँगै एमाले छाडेर संघीय समाजवादी पार्टीमा लागेका उनी पछिल्लो समय राजनीतिमा सक्रिय थिए । त्यहाँ पनि सन्तुष्ट हुन नसकेपछि उनी सबै दल छाडेर स्वतन्त्र वामका हैसियतमा रहेका थिए । पछिल्लो पटक ‘जीवनको उत्तराद्र्धमा पुरानै पार्टीमा फर्कर्ने मन भएको’ भनी निकटवर्तीसँंग उनले बताउँदै आएको पत्रकार शन्तराम बिंडारीले जानकारी दिए ।
सादा जीवन र उच्च विचारका हिमायती उनी इमानदार नेताका रुपमा परिचित थिए । कम्युनिष्ट भएर सुविधाभोगी हुनुहुँदैन भन्ने मान्यता उनको थियो ।-रासस