Logo

सिद्धबाबा सुरुङमार्गको टेन्डर फागुनसम्म



काठमाडौं, कार्तिक २६। लामो समयदेखि चर्चामा रहेको सिद्धार्थ राजमार्गअन्तर्गतको ‘सिद्धबाबा सुरुङमार्ग’ निर्माणका लागि दोस्रो चौमासिक अर्थात् फागुनसम्ममा सडक विभागले टेन्डर निकाल्ने भएको छ । स्रोत सुनिश्चितताको सहमति पाएको झन्डै १ वर्षमा सडक विभागले बुटवल–पाल्पा सडक खण्डमा पर्ने सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि टेन्डर निकाल्ने तयारी गरेको हो ।

२०७६ मङ्सिर २ गते अर्थ मन्त्रालयले रू। १० अर्ब १५ करोडको सीमाभित्र रहेर उक्त सुरुङमार्ग निर्माणको खरीद प्रक्रिया अघि बढाउन सहमति दिएको थियो । त्यसलगत्तै टेन्डर प्रक्रिया अघि बढाउने तयारी गरेको विभागले टेन्डर निकाल्न भने समय लगाएको हो । सुरुङमार्गको कुल लागत करीब रू। ८ अर्ब रहेको छ । विभागका प्रवक्ता शिवहरि सापकोटाले दोस्रो चौमासिकसम्ममा सुरूङमार्गको टेण्डर निकाल्ने जानकारी दिए ।

‘सुरुङमार्गको टेन्डरका लागि अहिले बिडिङ डकुमेन्ट बनाउँदै छौं,’ सापकोटाले भने, ‘सडक विभागले पहिलोपटक सुरुङमार्गको टेन्डर निकाल्ने तयारी गरेको छ र कुनै पनि समस्या नहोस् भन्ने गरी गृहकार्य भइरहेको छ ।’ सरकारले गत साउन २२ गते सुरुङमार्ग निर्माणको मापदण्ड स्वीकृत गरेसँगै सिद्धबाबा सुरुङमार्गको बिडिङ डकुमेन्ट सोही मापदण्डअनुसार पुनः समीक्षा गरी बनाइँदै छ । सुरुङमार्गका प्राविधिक पक्षहरू भने स्वीस कम्पनीले तयार गरेअनुसार नै हुने प्रवक्ता सापकोटाको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग निर्माण अघि बढाउन २०७६ असोज १५ गते अर्थ मन्त्रालयसँग स्रोत सुनिश्चितताका लागि अनुरोध गरेको थियो । अर्थले स्रोत सुनिश्चित गरेको नेपालको आफ्नै सुरुङमार्गसम्बन्धी मापदण्ड नभएपछि विभागले मापदण्ड बनाउने तयारी थालेको थियो । विभागले निजीक्षेत्र विशेष गरी जलविद्युत् आयोजनाहरूमा सुरुङ बनाएका प्राविधिक तथा आयोजना प्रमुख र विभागहरूसँग सहकार्य गरी योे मापदण्ड बनाएको थियो । उक्त मापदण्ड स्वीकृत भएको ३ महीनापछि विभागले टेन्डर निकाल्ने तयारी गरेको हो ।

फागुनसम्ममा टेन्डर निकालिसक्ने तयारी गरेको विभागले टेन्डरको मूल्यांकनलगायत काम सम्पन्न गर्दा निर्माण शुरू भने आगामी आर्थिक वर्षबाट मात्रै हुने सम्भावना देखिएको छ । सरकारले मुलुकभित्रका विभिन्न राजमार्गका साथसाथै छिमेकी चीनसँग जोड्ने सडकमा समेत सुरुङमार्ग बनाउने घोषणा गरिसकेको छ ।

उक्त सुरुङमार्ग निर्माणका लागि २०७६ साउनमा नेपाल र स्वीस कम्पनीले संयुक्त रूपमा अध्ययन गरी मन्त्रालयलाई प्रारम्भिक डिजाइनसहितको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० बुझाएको थियो । उक्त डीपीआरअनुसार सडकसहितको कुल ३ किलोमीटर (किमी) सुरुङमार्ग बन्ने भएको छ । सुरुङमार्गको लम्बाइ भने १ दशमलव १२६ किमी हुने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot