Logo

बिरामी बढेसँगै रगतको अभाव



चितवन, २६ कात्तिक: जिल्लाका अस्पतालहरुमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरुपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो ।

क्षेत्रीय रक्तसंञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले मागअनुसार रगत पु¥याउन नसकिएको बताए । केन्द्रमा दैनिक एक सय युनिट रगतको माग भइरहेको भए पनि ४० युनिट पुरा गर्नसमेत कठिन भएको उनको भनाइ छ । कोरोना कहरका कारण रक्तदान नहुनु, रक्तदाता केन्द्रमा आएर रक्तदान गर्न डराउनु, खेतीपातिको समय हुनुलगायतका कारणले रगतको अभाव भएको उनले जानकारी दिए ।

जिल्लामा रहेको विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालबाट दैनिक ३० युनिट रगतको माग हुने गरेको उनको भनाइ छ । यहाँका दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीको चाप बढेसँगै रगतको माग बढ्न थालेको हो । त्यहाँ रहेको क्यान्सर अस्पतालमा देशका विभिन्न स्थानसँगै छिमेकी देशबाट उपचारका लागि आउने गर्दछन् भने अन्य अस्पतालमा चितवनसहित १९ भन्दा बढी जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्