Logo

क्रिकेटमा असफल लालुपुत्र तेजस्वीको राजनीतिमा तेज



एजेन्सी, २६ कात्तिक । तेजस्वी यादव विहारका पूर्व मुख्यमन्त्री लालु यादवका छोरा हुन् । ३१ वर्षीय यी युवा कुनैबेला क्रिकेट स्टार बन्ने सपना देखेर ब्याट समाउन पुगे । इंडियन प्रिमियर लिगमा दिल्लीको टिममा आवद्ध भए । तर, मैदानमा उत्रन पाएनन् । झारखण्ड क्रिकेट टिममा पनि आवद्ध भएर व्यवसायिक क्रिकेटर बने ।

क्रिकेटमा भविष्य नदेखेपछि तेजस्वी राजनीतिमा हामफाले । आफ्ना पिता लालु यादव भ्रष्टाचार काण्डमा जेल गएपछि तेजस्वीले राष्ट्रिय जनता दलको नेतृत्व सम्हाले । यसपटकको विहार विधानसभा चुनावमा तेजस्वीको नेतृत्वमा राजद चुनावमा गयो । कँग्रेस आई र कम्युनिस्टसँग गठबन्धन बनाएर चुनाव लडेको राजदले विहारको सबैभन्दा ठूलो दल बन्ने सफलता हासिल गरेको छ । यसमा तेजस्वीको तेजले काम गरेको छ ।

तेजस्वीलाई भारतको राजनीतिको उदयीमान नेताका रुपमा हेरिएको छ । उनले लालुको विरासत थाम्ने लक्षण देखाइसकेका छन् । उनका पिता लालुमात्र नभई माता रावडी देवी पनि विहारकी पूर्व मुख्यमन्त्री हुन् । यसपटक उनी मुख्यमन्त्रीको दाबेदार देखिएपनि विपक्षी गठबन्धन अल्पमतमा परेको छ । नितिश कुमार नेतृत्वको गठबन्धनले बहुमत हासिल गरेको छ । तर, विहारको राजनीतिमा गठबन्धनहरु भत्किएमा तेजस्वीको सम्भावना बलियो छ ।

राष्ट्रिय जनता दलको ७५ सिट रहेको छ । भाजपाको ७४ सिट छ । नितिशको दल जनता दल युनाइटेडको ४४ सिट छ । कँग्रेस आईको १९ र कम्युनिस्टहरुको त्योभन्दा बढी सिट छ । यस्तो अवस्थामा विहारको राजनीतिमा सत्ता ढाल्ने र बनाउने खेल हुनसक्छ । यस्तो अवस्थामा तेजस्वीको तेज कसरी चल्ने हो हेर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्