Logo

विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउनेमा जोड



लमजुङ, २६ कात्तिक: बेँसीशहर नगर कार्यपालिकाको आज बसेको बैठकले विद्युत् वितरण प्रणालीलाई व्यवस्थित, नियमित, गुणस्तरीय र प्रभावकारी बनाउनका लागि नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण गर्ने निर्णय गरेको छ ।

यसअघि नगरभित्र लमजुङ विद्युत् उपभोक्ता संस्थामार्फत विद्युत् वितरण हुँदै आएको थियो । बैठकले प्राधिकरणमार्फत विद्युत् वितरण र व्यवस्थापन गर्ने व्यवस्था मिलाउन सरोकारवाला निकायमा अनुरोध, सिफारिस र ध्यानाकर्षणसमेत गराएको छ ।

नगरपालिका क्षेत्रमा विद्युत् संरचनाको पूर्वाधार सुदृढीकरण हुन नसकेको तथा व्यवस्थापकीय क्षमतासमेत कमजोर रहेका कारण विगतदेखि नै विद्युत् आपूर्ती नियमित र भरपर्दो हुन नसकेर अत्यधिक जनगुनासो बढेकाले यस्तो निर्णय गरिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।
विसं.२०५३ मा लमजुङ विद्युत् उपभोक्ता संस्था स्थापना भई २०५४ सालबाट विद्युत् सेवा प्रवाह गर्दै आएको यस संस्थाबाट लमजुङको सबै स्थान र तनहुँको केही भागमा विद्युत् वितरण हुँदै आएको छ । यस संस्थाबाट दुवै जिल्लामा गरी करिब २८ हजार सेवाग्राहीलाई विद्युत् उपलब्ध गराएको छ ।

यो संस्थाले गरेको सेवा प्रवाहलगायत विविध कार्य राम्रो हुन नसकेपछि सो कार्य विद्युत् प्राविधिकरणलाई जिम्मा लगाउने औपचारीक निर्णय नगरपालिकाले गरेसँगै विद्युत्मा आएको विभिन्न समस्याको समाधान हुने भन्दै जिल्लावासी उत्साहित भएका छन् । दैनिक करिब ३०÷३५ पटक विजुली आउने जाने लगायत विभिन्न समस्या सेवाग्राहीहरुले झेल्दै आएका छन् ।

बैठकले नगरपालिकाको मेयर उद्यमशीलता विकास कार्यक्रम निर्देशिका–२०७७ तथा उद्यम व्यवसायहरुको विकास र प्रवद्र्धन गर्न सहुलियतपूर्ण कर्जामा उद्यम व्यवसायका लागि व्याज अनुदान सम्बन्धी कार्यक्रम स्वीकृत गरी सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै, चालू आर्थिक वर्षका लागि नगरपालिका र स्थानीय दलित समुदायको क्रमशः ७०-३० प्रतिशत लागत साझेदारीमा दलित समुदायमा सामुदायिक भवनलाई रु २८ लाख, नगरपालिका र स्थानीय समुदायको ५०-५० प्रतिशत लागत साझेदारीमा १० वटा सामुदायिक भवनलाई रु ३८ लाखको योजना छनोट गरेको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot