काठमाडौं,कार्तिक २७। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम शीर्षकमा झन्डै ७ अर्ब रुपैयाँ निकासा पाएको छ । स्वास्थ्य मन्त्रालयले आर्थिक वर्ष २०७७(७८ मा कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि हालसम्म ६ अर्ब ८१ करोड ५९ लाख ६ हजार रुपैयाँ विनियोजन गरेको हो । संक्रमित व्यवस्थापन, कट्याक्ट ट्रेसिङ र जोखिम भत्ताका लागि १ अर्ब १४ करोड २९ लाख ६ हजार रुपैयाँ निकासा भएको छ ।
प्रयोगशाला परीक्षणका लागि हालसम्म १ अर्ब १२ करोड ४० लाख तथा आईसीयू, भेन्टिलेटर र औषधि सुदृढीकरणका लागि १ अर्ब २९ करोड ९० लाख रुपैयाँ निकासा भएको छ । सो विनियोजित रकममा हाई डेपिसेन्सी युनिटका लागि विनियोजित ३ अर्ब २५ करोड समावेश भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
देशभर बुधबार २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार देशभर १ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म १ लाख ६२ हजार २ सय ४३ जना निको भएका छन् । देशभर ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा २६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ७४ पुगेको छ । पछिल्लो २४ घण्टामा १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ ।राजधानी दैनिकबाट