Logo

अन्तरपालिका सहकार्यले विकासमा आयाम



काठमाडौं, कार्तिक २७। स्थानीय तहभित्रको दिगो, एकीकृत र ठूला पूर्वाधार निर्माणका लागि स्थानीय तहहरूले अन्तरपालिका सहकार्य गर्न थालेका छन् । ससाना पुँजीलाई एकीकृत गरी सामूहिक योजना सञ्चालन गर्दै स्थानीय तहहरूले अन्तरपालिका सहकार्य सुरु गर्न थालेपछि विकासमा आयाम थपिने भएको छ ।

अन्तरपालिका सहकार्यले दुई वा तीन पालिका जोड्ने योजना प्रभावकारी रूपमा सञ्चालन गर्ने, विपद् व्यवस्थापन, फोहोर व्यवस्थापन, खानेपानीको वितरण र उत्पादन प्रक्रियामा स्थानीय तहले अन्तरपालिका सहकार्य र समन्वय गर्न थालेका हुन् ।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जूले भन्नुभयो “अन्तरपालिका सहकार्य र समन्वयले दिगो विकासको आधार तयार भएको छ ।” अन्तरपालिका सहकार्यबाटै धुलिखेल, बनेपा र पनौती नगरपालिकाद्वारा सञ्चालित काभ्रे खानेपानी आयोजना अन्तरपालिका सहकार्य र समन्वयको आधार भएको उनले जानकारी दिए।

अन्तरपालिका सहकार्य मोडलको अवलम्बनले सामूहिक लगानीलाई प्रोत्साहन गर्दै एकीकृत पुँजी निर्माणमा सहयोग पुगेको, साधन स्रोत र पूर्वाधारमा दोहोरो लागत र कतिपय व्ययभार घट्ने भएकाले स्थानीय तहहरूले अन्तरपालिकाबीच सहकार्य र योजना सञ्चालन गर्न थालेका हुन् ।

यसका साथै बनेपा, धुलिखेल र पनौती जस्तै अन्तरपालिका सहकार्य गर्ने स्थानीय तहमा सिद्धार्थ राजमार्गमा अवस्थित पालिकाहरूबीच सिद्धार्थ आर्थिक करिडोर निर्माण, काठमाडौँ उपत्यकामा उपत्यका नगरपालिका फोरम, ललितपुरका दक्षिण क्षेत्रका तीनवटा गाउँपालिकाद्वारा अध्यक्ष फोरम निर्माण गरी एकीकृत रूपमा अन्तरपालिका निर्माण गर्ने कार्य सुरु भएको छ ।

काठमाडौँं महानगरपालिकाद्वारा प्रवद्र्धन गरिएको नगर साझेदारी कार्यक्रमले काठमाडौँका १० वटै नगरपालिकामा पर्यटकीय पूर्वाधार निर्माण भएका छन् । स्थानीय शासनविज्ञ प्रमोद अर्यालले कतिपय स्थानीय तहले एकीकृत विकासका लागि अन्तरपालिका योजना कार्यान्वयनमा ल्याए पनि अन्तरपालिकाको ठोस नीति, कार्यक्रम र मोडल बनाई कार्यान्वयन गर्ने अवस्थामा स्थानीय तह पुगी नसकेको बताए। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot