गोरखा, २७ कात्तिक: उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित सल्लेरीदेखि भालुवनसम्म पैदल यात्रु हिँड्नका लागि करीब तीन किलोमिटर भिरमा थालिएको गोरेटो बाटो निर्माणको काम अन्तिम चरणमा पुगेको छ । वर्षौँदेखि छङ्गाछुर भीरमा भुण्डिएर हिँड्नुपर्ने भालुवनबासीका लागि दैनिक आउजाउमा सहज बनाउन विश्व खाद्य परियोजनाले पूर्णिमाको कार्यक्रमसँगको साझेदारीमा बाटो निर्माण शुरु गरेको हो ।
वडाध्यक्ष रामकुमार गुरुङले ३ दशमलव २३ किलोमिटर दूरीमा ढुङ्गाको सिँढी बनाएर करीब चार फिट चौडाइको बाटो निर्माणको काम भइरहेको बताए । करीब ४३६ मिटर भागमा भने रेलिङ बनाएर जाली लगाउने काम भइरहेको छ ।
मनास्लु संरक्षण क्षेत्रभित्रको उक्त बाटो तिहारलगत्तै निर्माण सम्पन्न हुने निर्माणमा खटिएका इञ्जिनीयर आशिष श्रेष्ठले बताए ।-रासस