Logo

ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा



बनेपा, २७ कात्तिक: जाडो मौसम शुरु भएसँगै काभ्रेपलाञ्चोकका नमोबुद्ध नगरपालिका–१० का ज्येष्ठ नागरिक र एकल महिलालाई न्यानो लुगा वितरण गरिएको छ । नगरपालिकाको वडा नं १० को आयोजनामा वडाभित्र रहेका ज्येष्ठ नागरिक र एकल महिला गरी करिब ३२५ जनालाई घरघरमा नै पुगेर जाडोका लागि न्यानो लुगा वितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिना र वडाध्यक्ष रामकृष्ण अधिकारी नेतृत्वको टोलीले ज्येष्ठ नागरिकको घरघरमा पुगेर न्यानो कपडा वितरण गरेका छन् । वितरण गरेको सामग्रीमा जाडोका लागि न्यानो एक÷एक थान स्वेटर, टोपी र ट्राउजर रहेको छ । न्यानो कपडा वितरण गर्नुहुँदै नगर प्रमुख तिमल्सिनाले वृद्धवृद्धालाई सहयोग दिनका लागि नभई आशिर्वाद लिन आएको बताए ।

“नगरपालिकाको वार्षिक योजनानुसार ज्येष्ठ नागरिकका लागि सहयोग गर्दै आएको छ ।” नगरप्रमुख तिमसल्सनाले भने, “आगामी दिनमा पनि यसखालको कार्यक्रमलाई निरन्तरता दिनेछौँ ।” सो क्रममा उनले नगरका सबै वडाका ज्येष्ठ नागरिकका लागि सो खालको काम अगाडि बढाइने बताए । यसअघि पनि नगरप्रमुख शर्माले वडा नं १० पुगेर उनीहरुलाई स्वास्थ्य सामग्री वितरण गर्नुका साथै नगरभित्र वृद्धवृद्धा भेटघाट चौतारी निर्माणको कामसमेत गरिरहेको छ । त्यससँगै नगरभित्रका वृद्धवृद्धाको निःशुल्क मोतिया विन्दुको शल्यक्रिया गर्नेलगायत कामसमेत अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

वडाध्यक्ष अधिकारीका अनुसार दुई दिन लगाएर वडाका सबै ज्येष्ठ नागरिक तथा एकल महिलालाई सो कपडा वितरण गरेको हो । सो क्रममा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई चार्जेबल टर्चलाइटसमेत वितरण गरिएको छ । “कोभिड १९ महामारीको अवस्था र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै टोलटोलमै टोली पुगेर न्यानो लुगा वितरण गरेको वडाध्यक्ष अधिकारीले भने । यसअघि वडाले कोभिड–१९ महामारी शुरु भएलगत्तै वडाका सबै बासिन्दाका लागि मास्कलगायत स्वास्थ्य सामग्री वितरण गर्नुका साथै चेतनामूलक अभियान शुरु गरेको थियो । न्यानो लुगा प्राप्त गरेपछि खुशी भएका उनीहरुले जनप्रतिनिधि आएपछि आफूहरुले पाउने सेवा सुविधामा समेत वृद्धि भएको बताए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्