Logo

सिमानाका प्रतिबन्ध एक महिना लम्बियो, कोरोना परिक्षण र उपचार निःशुल्क



कात्तिक १७, काठमाण्डौ । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरिएको जानकारी दिएका हुन् ।

सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।

बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा निःशुल्क गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए । यस्तै बैठकले मन्त्रीपरिषदका सबै सदस्यको यस वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।

यसैगरी कोरोनाविरुद्धको खोप यथाशक्य छिटो ल्याउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित टोली गठन गरेको छ । बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह बमोजिम बंगलादेशले पैँचोमा युरिया मल दिन नमिल्ने बताएपछि मल किन्ने निर्णय गरेको छ भने नेपालमा नै रसायनिक मल कारखाना खोल्न समिति गठन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । साथै पुस्तक आयातमा लाग्दै आएको विवादास्पद भन्सार महशुल खारेज गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

बैठकले सार्वजनिक खर्चमा मितव्यतिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै देशका बिभिन्न स्थालाई औधोगिक ग्राम घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै किजापूजाको अवसरमा मंसिर दुई गते सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot