काठमाडौं, कार्तिक २८ । प्रहरी समायोजन अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाएको झन्डै एक महिना बितिसक्दा पनि नेपाल प्रहरीको समायोजन प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
नेपाल प्रहरीको समायोजनका लागि तयार पारिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) मन्त्रिपरिषद्ले पास नगरिदिँदा समायोजन प्रक्रिया लम्बिएको हो । प्रहरी प्रधान कार्यालयले तयार पारेर गृह मन्त्रालय पठाएको ओएनएम गृह मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको भए पनि मन्त्रिपरिषद्को बैठकमा एजेन्डाले प्रवेश नपाएपछि अहिले समायोजन प्रक्रिया अलपत्र परेको छ ।
पूर्वनिर्धारित कार्यक्रमअनुसार तीन महिनामा समायोजन प्रक्रिया सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म ओएनएम पास नहुँदा प्रक्रिया नै अगाडि बढ्न नसकेको प्रहरीले जानकारी दिएको छ । प्रधानमन्त्री केपी ओलीले नै समायोजन प्रक्रियामा चासो नदिएको कारण ओएनएम पास नभएको गृहका एक उच्च अधिकारीले जानकारी दिए ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कठायतले समायोजनको आन्तरिक काम तीव्ररुपमा भइरहेको र मन्त्रिपरिषद्ले ओएनएम पास गर्नासाथ काम तीव्र गतिमा अघि बढ्नेबारे बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।