Logo

डा. दिक्षित भन्छन् : ‘सरकारले जतिसक्दो भ्याक्सिन ल्याउनुपर्छ’



काठमाडौं, २८ कार्तिक । वरिष्ठ चिकित्सक तथा नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले अलिकति शंका लागेमा कोरोना संक्रमणको जाँच गराउनुपर्ने र तत्काल आईसोलेशनमा बस्नुपर्ने जोड दिएका छन् । उनले जनस्वास्थ्यका मापदण्ड सबैले पालना गर्नुपर्ने पनि बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल सरकारले जति पैसा खर्च गरेर भएपनि कोरोनाविरुद्धको भ्याक्सिन ल्याउनुपर्ने पनि बताए ।

उनले भने-“जति पैसा खर्च गरेर भएपनि हामीले भ्याक्सिन तत्काल ल्याएर चाहीँ नातागोता, कृपावाद नगरिकन पोलिटिकल मान्छेहरुलाई नहेरिकन वैज्ञानिक तवरबाट मुलुकभरि चाहीँ छ्यापछ्याप्ती बन्दोबस्त गर्नुपर्छ । यो भाईरसँग वर्षौसम्म रहन्छ । यसको उपायहरु छन् । एउटा चाहीँ हो भ्याक्सिन ।” भारत, चीन र रसियाले सस्तोमा भ्याक्सिन दिनसक्ने भएकोले सरकारले यी तीन देशसँग भ्याक्सिन ल्याउनको लागि पहल गर्नुपर्नेमा उनको जोड छ । सरकारले भ्याक्सिन ल्याउनको लागि कमिटी नै बनाएको सुनाउँदै यो खुशीको कुरा भएको डा. दिक्षितको भनाई छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक द्धन्द्धले गलत सन्देश गएको पनि उनले टिप्पणी गरे ।

नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आन्तरिक विवाद भनेको पदीय भागबण्डाको मात्रै भएको दिक्षितको टिप्पणी छ । अध्यक्ष दाहालले कार्यकारी अध्यक्ष चाहिएकोले प्रधानमन्त्री ओलीले उनलाई अध्यक्ष छोडिदिनुपर्ने उनले तर्क गरे । र, प्रधानमन्त्री ओलीलाई पार्टीले हस्तक्षेप गर्न नहुने पनि उनको सुझाव छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot