Logo

वामदेवलाई कहिले गृह त कहिले अर्थ मन्त्रीको प्रस्ताव लिएर यीनको दौडधुप



काठमाडौं, २८ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई उपप्रधामन्त्रीसहित रोजेको मन्त्रालयको प्रस्ताव लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्रहरु भैंसेपाटी पुग्न थालेका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलाशले गौतमका लागि मन्त्री बन्ने ढोका खुलेपछि भैंसेपाटीमा प्रस्तावहरु पुग्न थालेका हुन् ।

ओलीविरोधी मोर्चामा गौतम सहभागी भएपछि उनलाई तान्ने प्रयास चलिरहेको छ । गौतमलाई भेट्न बिहिबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल भैंसेपाटी पुगेका थिए । उनले गौतमलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

आज विहान महासचिव विष्णु पौडेल गौतम निवास पसेका थिए । उनी यसपटक समय लिएर गौतमलाई भेट्न पुगेका थिए । पौडेलले गौतमका लागि अर्थ मन्त्रालय त्याग्ने सम्मको प्रस्ताव राखेका थिए । यसबाहेक रोजेको मन्त्रालयसहितको उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेका थिए । तर, गौतमले व्यक्तिले बनाउने भन्दा पार्टी पद्धति र विधिको निर्णयमा विश्वास गर्ने जवाफ दिएका थिए ।

विश्वस्त स्रोतका अनुसार गौतमले व्यक्तिको तजबिजमा पार्टी चल्न नहुने पक्षमा आफू रहेको जवाफ दिएका थिए । पार्टी सामूहिक कदम र निर्णयबाट चल्नुपर्नेमा उनको जोड थियो । पार्टीको निर्णय अनुसार आफू चल्ने भन्दै गौतमले यसपटक कडा जवाफ दिएको बुझिएको छ ।

नेकपाभित्र बहुमत सचिवालय सदस्य ओलीको विरोधी मोर्चामा छन् । यो अवस्थामा परिवर्तन ल्याउन वामदेवलाई पुनः फकाउन खोजिएको छ । तर, विगतमा धोकाधडी भएको भन्दै गौतम ओलीको विश्वासपात्रहरुको प्रस्तावबाट आश्वस्त भएका छैनन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot