काठमाडौं, कार्तिक २९। चिनीको अधिक माग हुने तिहारमा पनि सरकारले सहुलियतमा ल्याउने भनेको चिनी आएन । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको दशैँ, तिहारमा ल्याउने भनेको भन्सार छुटको चिनी आउन अझै समय लाग्ने भएको छ । कम्पनीले गरेको पहिलो टेन्डरमा कोही पनि व्यापारी इच्छुक नभएपछि अर्को टेन्डर गर्दा समय लाग्ने भएको हो ।
सरकारले दशैँ, तिहार र छठलाई लक्षित गरेर ३० हजार मेट्रिक टन चिनी खरिद गर्न खाद्य कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई ५० प्रतिशत भन्सार छुट दिएको थियो । खाद्य कम्पनीलाई चिनी खरिद गर्नका लागि सरकारले पहिलोपटक कोटा निर्धारण गरेको हो तर पहिलोपटक नै असफल हुने देखिएको छ ।
कम्पनीको खरिदसम्बन्धी आफ्नो ऐन, नियमावली नभएको र सरकारको सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रिया जाँदा लामो प्रक्रियामा जाँदा समय लाग्ने बताइएको छ । कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले कम्पनीले चिनी खरिदका लागि पहिलोपटक आह्वान गरिएको टेन्डरमा एउटै पनि आवेदन नपरेकाले तिहार र छठमा पनि खाद्य कम्पनीको चिनी आउन नसक्ने निश्चित भएको बताईन् ।
कम्पनीले अब पुनः टेन्डर कस्तो तरिका, के कसरी गर्ने भन्ने विषय छलफलकै चरणमा रहेको र अहिलेसम्म टुङ्गो नलागेको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।