Logo

किसान समस्यामा



मंगलबारे, कार्तिक २९ । निजी तथा पारिवारिक वनमार्फत गोलिया उत्पादक किसानले जति दुःख गरे पजि बिक्रीका लागि सरकारी नीतिका कारण समस्या हुने गरेको किसानको भनाइ छ । पारिवारिक निजी वन सङ्घ नेपाल इलामले इलाम नगरपालिका १० गोगकमा आयोजना गरेको अनुगमन तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

तीन तहका सरकारबीचको तालमेल हुन नसकेका कारण समस्या उत्पन्न हुँदा उत्पादित गोलिया बिक्रीमा समस्या आएको किसान तथा सरोकारवालाको भनाइ छ । गोलिया उत्पादक किसानले विभिन्न प्रजातिका रुख तथा बिरुवा उत्पादन गरेर हुर्काए पनि काट्न र बेच्न नपाउने सरकारी नीतिका कारण समस्या आएको हो । सरकारले साल, सखुवा, खयरलगायत बोट बिरुवा कटानमा प्रतिबन्ध लगाएका कारण समस्या भएको किसान वीरेन्द्र चौहानले बताउनुभयो ।

उहाँले हाल देशमा तीन तहका सरकार क्रियाशिल रहँदा पनि किसानका समस्या समाधानमा पहल नगरेको गुनासो गर्नुभयो । तीन तहका सरकारले आआफ्नै ढङ्गबाट बनाएका विभिन्न नीति तथा नियम बाझिएका कारण समस्या भएको किसान विशोरसिंह खत्रीले बताउनुभयो । उहाँले सरकारले निजी वन उत्पादकलाई दिनुपर्ने रकम नदिएका कारण पनि समस्या भएको बताउनुभयो ।

विभिन्न मुलुकमार्फत रुख जोगाएवापत सरकारलाई दिने रकम सही ठाउँमा खर्च नभएको निजी तथा पारिवारिक वन सङ्घ इलामका अध्यक्ष रविन्द्र सुवेदीले बताउनुभयो । वन ऐन कठोर भएका कारण पनि निजी वन मासिने क्रम बढेको बताइएको छ । वन जङ्गललाई पनि एक प्रकारको खेतीकै रुपमा अगाडि बढाउन सके मात्र वन जङ्गल मौलाउने इलाम नगरपालिकाका मेयर महेश बस्नेतले बताउनुभयो । उहाँले सङ्घीय सरकारले ल्याएको वन ऐन नै स्पष्ट नभएका कारण समस्या आएको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot