गुल्मी, कार्तिक २९ । जिल्लाको छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिहं राना बिहान उठ्नेवित्तिकै बारीमा पुग्नुहुन्छ । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र झारपात गोडमेल गर्ने उहाँको दैनिकी हो ।
कारण हो, उहाँले विगत ६ वर्षदेखि व्यावसायीक खेती गर्दै आउनुभएको छ । रानाको जीवनको ऊर्जाशील उमेर रोजगारीको सिलसिलामा भारतमै बिते । बल हुने बेलासम्म पो भारतमा काम गर्ने, बल सकिएपछि के गर्ने रु उहाँले सोच्नुभयो । त्यसपछि हुगाका आफ्नो साथीको बारीमा जाँदा तरकारी खेती गरेको देखेर राना पनि प्रभावित हुनुभयो र आफूले पनि त्यसै गर्न शुरु गर्नुभयो ।
रानाले अहिले कूल १० रोपनी बारीमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । जसमा टमाटर, काउली, बन्दा, आलु, खुर्सानीलगायत तरकारी लगाउनुभएको छ । राना पहिले–पहिले उत्पादित तरकारी डोकोमा बोकेर विभिन्न ठाउँमा बेच्न हिड्ने गर्नुहुन्थ्यो । अहिले भने तरकारी लिन पैँचो पसलको गाडी घरमै आउछ । बारीमा पुरोना, विन सेरिन र सिर्जना गरी तीन जातका टमाटर लगाइको छ भने अन्य तरकारी पनि फरक–फरक जातका लगाउनुभएको छ ।
तरकारी बिक्रीको लागि उहाँले पैँचो पसलसँग सम्झौता गर्नुभएको छ । समयअनुसार काउली रु १२०, सिमी १३०, बन्दा ५५ तथा टमाटर ३० देखि ७५ प्रति केजीसम्म बिक्री हुन्छ । बजारमा तरकारीको माग बढी हुँदा मूल्य बढ्ने र माग कम हुँदा मूल्य कम हुने उहाँले बताउनुभयो । उहाँले कूल दश वटा टनेलमा टमाटर लगाउनुभएको छ ।
टमाटरको तलपट्टि गोपीका बिरुवा लगाउनुभएको छ । अहिलेको मौसममा मात्रै सय क्वीन्टल टमाटर उत्पादन हुने उहाँले बताउनुभयो । वार्षिक रुपमा उत्पादन गर्दा लागेको खर्च कटाएर मात्रै चारदेखि रु पाचँ लाख आम्दानी हुने उहाँले बताउनुभयो ।
उहाँको परिवारमा बुबा, आमा, श्रीमती र दुईभाई छोरा छन् । परिवारबाट पनि राम्रो सहयोग भएकाले काममा झनै हौसला मिलेको उहाँको अनुभव छ । साथै आफ्नै घरमा उत्पादन भएको तरकारी खादा कुनै रोग नलाग्ने र स्वस्थ भइने पनि उहाँको अनुभव छ । छत्रकोट गाउँपालिका–१ हुगाँका ४० वर्षीया दानबहादुर पल्लीले २०७२ बाट खुल्ला रुपमा टनेलबाहिर टमाटर खेती शुरु गर्नुभयो । अहिले १० रोपनी जग्गामा ४१ वटा टनेल बनाउनुभएको छ ।
जसमध्ये १० वटा पक्की टनेल र ३१ वटा कच्ची टनेल छन् । उहाँको मुख्य उत्पादन टमाटर हो । त्यसका साथै राज्मा सिमी, रायो र गोपी पनि उहाँले बिक्री गर्दै आउनुभएको छ । टनेलमा टमाटर र टमाटरको फेदमा गोपी लगाएर उहाँले एकै ठाउँमा दोहोरो उत्पादन लिँदै आउनुभएको छ । एक केजी सिमी ८० देखि १००सम्म बिक्री हुन्छ । यो वर्ष पनि ६ क्वीन्टल सिमी उत्पादन गर्ने पल्लीको लक्ष्य छ । उत्पादित सबै तरकारी बुटवलमा पठाउने भएकाले पनि बजारको कुनै समस्या नभएको उहाँले सुनाउनुभयो ।
टमाटर, सिमीलगायत सबैजसो तरकारी खेतीबाट कूल १२ लाख आम्दानी हुने र त्यसबाट खर्च कटाउदा ६ लाख बचत हुने उहाँले बताउनुभयो । गत आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारको चार लाख अनुदान र आफ्नो चार लाख गरी कुल आठ लाखमा १० वटा टनेल थप गर्नुभएको थियो । साथै वार्षिक १० वटा टनेल वृद्धि गर्दै लैजाने योजना रहेको उहाँको भनाइ छ । “गर्न सके स्वदेशमै सुन फलाउन सकिदो रहेछ”, उहाँले भन्नुभयो, “राज्यको तर्फबाट अनुदानको सट्टा पुरस्कार दिने लगायतका प्रोत्साहनका काम गर्नुपर्छ ।’
पानीको समस्या
युवाहरुले व्यावसायिक तरकारी खेती गर्न चाहेपनि सिँचाइको लागि पानीको उपलब्धता नहुँदा समस्या परेको छ । हुँगामा विगत दुई वर्षदेखि लुम्बिनी प्रदेश सरकारको ‘स्मार्ट कृषि गाउँ’ पनि लागू भएको छ । तर आवश्यक पानीको उपलब्धता नहुँदा समस्या खेप्नुपरेको छ ।
“आवश्यक सिँचाँइ अभावले सोचेजती काम हुन सकेको छैन”, दानबहादुर पल्लीले भन्नुभयो, “हाम्रो धेरै लगानी पानीको लागि खर्चनुपरेको छ ।” अर्का स्थानीय होमबहादुर पल्लीले पनि पानीकै अभावले गर्दा स्मार्ट कृषि गाउँ कार्यक्रममा समस्या परेको बताउनुभयो । “स्मार्ट कृषि गाउँ कार्यक्रम आएकोमा खुसी छाँै”, उहाँले भन्नुभयो, “पानीको समस्याले गर्दा सोचेजति उत्पादन हुन सकेको छैन ।”
छत्रकोट गाउँपालिकामा चालू आवमा कुल रु दुई करोड ३५ लाख खानेपानीको लागि विनियोजन भएको छ । तर सिँचाँइको लागि भने आवश्यक बजेट विनियोजन भएको छैन । गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले हुँगा, पल्लिकोटलगायतका स्थानमा ठूला खानेपानीका आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । कुलोबाट सिञ्चित हुने धेरै क्षेत्र नभएकाले पहिलेदेखि भएका कुलालाई व्यवस्थित गरेर सञ्चालन गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।रासस