Logo

आज महालक्ष्मीको पूजाआराधना गरिँदै, कोरोनालाई चूनौति दिने असनको भीड (फोटोफिचर)



काठमाडौं, २९ कार्तिक । आज धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ । आज कुकुर तिहार हो । तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ । बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् । मूलद्वारदेखि पूजाकोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

गृहिणीहरु साँझ दिपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् । लक्ष्मीपूजाका दिन लक्ष्मीको प्रतीक मानी छोरीको पनि पूजा गर्ने चलन पनि छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अरु चल अचल सम्पत्ति बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ ।

लक्ष्मी पूजापछि आज रातभर पूजाकोठा, घर आगन र टोलमा वत्ति बाल्ने गरिन्छ । सुखरात्रीको रुपमा चिनिने आजराति जुन घर उज्यालोले झकिझकाउ छ सोही घरमा लक्ष्मी प्रवेश गर्ने मान्यता रहेको छ । कोरोना संक्रमणको कुनै प्रवाह नगरी काठमाडौंको असन, ईन्द्रचोकमा मानिसहरुको किनमेल गर्न भीड लागेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्