काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै भेटवार्ता गर्न थालेका छन् । उनले भावी रणनीति तय गर्न र अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको मोर्चाबन्दीलाई कसिलो बनाउन भेटवार्ता अगाडि बढाएका हुन् ।
प्रचण्डले आज विहान वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका छन् । ओलीले पठाएको पत्र र प्रत्युत्तर पत्रपछि उत्पन्न परिस्थितिबारे दुई नेताबीच गम्भीर छलफल भएको छ । तिहार लगत्तै हुने सचिवालय बैठकको रणनीति तय गर्न पनि छलफल केन्द्रित भएको बुझिएको छ ।
यसैगरी, नेकपा स्थायी कमिटी सदस्य पम्फा भुषाल र देव गुरुङसँग प्रचण्डले परामर्श गरेका छन् । सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल पक्षका मानिने दुवैसँगको भेट अर्थपूर्ण छ । प्रचण्डले पूर्व माओवादीका नेताहरुसँग छलफललाई तिव्र पारेको बुझिएको छ ।