Logo

ओलीलाई ‘अध्यक्ष या प्रधानमन्त्री एक रोज्ने’ प्रस्तावको तयारी



काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीभित्र ३ मंसिरका लागि तय भएको सचिवालय बैठकमा कडा बहस हुने निश्चित भएको छ । बैठक अगावै नेकपा नेताहरुबीच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चल्न थालेको छ ।

हिजो बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुलाई लेखिएको पत्र र प्रचण्डको प्रत्युत्तर पत्रमाथि सार्वजनिक बहस चलेको छ । विशेषगरी ओली निकटस्थहरुले प्रचण्डमाथि गुटबन्दीको आरोप लगाएका छन् । कतिपय नेताहरुले नेकपा बिघटनको संघारमा पुगेको आशयसहितको विषय उठाएर लेख्न थालेका छन् ।

नेकपाभित्र तिहारलगत्तै हुने सचिवालयमा ठुलै टकराव हुने स्पष्ट भएको छ । ओली र प्रचण्ड दुवै पक्षले आ-आफ्नो तयारी गरेका छन् । ओली कुनै हालतमा अध्यक्ष र प्रधानमन्त्री पदबाट नहट्ने अडानमा छन् । उनले सार्वजनिक रुपमा यसबारे अभिव्यक्ति दिदै आएका छन् ।

ओलीविरोधी समूहले भने ओलीसँग सहमतिको न्यूनतम बिन्दु तय गरिरहेको बुझिएको छ । सहमतिका लागि ओलीलाई अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पदमात्र रोज्न भनिने बुझिएको छ । एक व्यक्ति एक पदको नीति अनुसार प्रस्ताव तयार गर्नेबारे प्रचण्डलगायतका नेताहरु लगभग टुंगोमा पुगेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

पार्टी दुर्घटनाबाट जोगाउन ओलीसामु सहमतिको बिन्दु प्रस्ताव गरिने भएको छ । यसलाई अस्वीकार गरेमा पार्टी कमिटीबाट निर्णय गराएर सरकारबाट फिर्ता बोलाउने सम्मको तयारी भएको बुझिएको छ । नेकपाभित्र सचिवालय बस्दै गर्दा स्थायी कमिटी बैठकको पनि चर्चा छ । यसलाई ओली पक्षले आफूहरुमाथिको प्रहारको तयारीका रुपमा बुझेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot